३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


पोखराबाट ६९ पर्यटकलाई काठमाडौं पठाइयो, विमान चार्टर्ड गरेर स्वदेश फर्काउने


0
Shares

चिप्लेढुङ्गा, बैशाख १८ । बन्दाबन्दीका कारण पोखरामै रोकिन पुगेका विदेशी पर्यटकलाई पोखराबाट काठमाडौं पठाइएको छ ।

कोभिड–१९ का कारण सरकारले पछिल्लो पटक १० दिन बन्दाबन्दीको समय थपेपछि घर जान आत्तिएका विदेशी पर्यटकलाई सम्बन्धित देशका राजदूतवासको पहलमा पोखराबाट काठमाडौं पुर्‍याउने व्यवस्था मिलाइएको हो ।

स्वीस राजदूतावासको पहलमा बिहिबार तीन पर्यटक बसले ६९ विदेशी पर्यटकलाई काठमाडौं लैजाने व्यवस्था गरेको पर्यटक प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

उनका अनुसार लेकसाइडको हल्लनचोकमा बसको व्यवस्था गरेर सम्पूर्ण पर्यटकको ज्वरो मापन गरी गाडीमा बस्ने व्यवस्था मिलाइएको थियो भने सम्पूर्णलाई मास्क वितरण गरिएको थियो । बन्दाबन्दी यता पोखराबाट विभिन्न समयमा ९३५ पर्यटकको उद्धार गरिएको छ ।

काठमाडौं जान लागेका पर्यटकमा ४० जना फ्रेन्च, ११ जना जर्मनसहित पोल्याण्ड, नर्वे, बेल्जियम, पोर्चुगल, अष्टे«लिया, इटाली, क्यानाडा, स्वीडेन, नेदरल्याण्ड, रमानिया मुलुकका रहेका छन् ।

काठमाडौंबाट फ्रेन्च राजदूतावासले पेरिसमा मे २ मा विमान चार्टर्ड गरेर नागरिकलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको छ ।

पोखराका पर्यटन व्यवसायी एवं स्वीट्जरल्याण्डका लागि पोखरास्थित प्रतिनिधिसमेत रहेका बसन्त दवाडीले फ्रेन्च नागरिकसहित यूरोपेली युनियनले नेपालमा अलपत्र परेका पर्यटकलाई स्वदेश फर्काउन पहल गरेको र बिहिबार फ्रेन्चसहित अन्य मुलुकका नागरिकलाई काठमाडौँ पठाइएको जानकारी दिए ।

पोखराका विभिन्न होटल एवं गेष्ट हाउसमा अझै पनि केही विदेशी पर्यटक रहेका र उनीहरुले आफ्नो देशभन्दा यतै सुरक्षित महसुस गर्ने गरेका पाइएको छ । 

रासस