२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


‘स्तनपानका कारण बालबालिकामा कोरोना सरेको कुनै अध्ययनले देखाएको छैन’


0
Shares

काठमाडौं, वैशाख १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले कोरोनाभाइरसको लक्षण देखिएका वा ‘क्वारेन्टाइन’मा बसेका महिलाहरुले आफ्ना सन्तानलाई स्तनपान गराउन नछाड्न आग्रह गरेको छ ।

मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्तनपानका कारण बालबालिकामा कोरोना संक्रमण सरेको कुनै अध्ययनहरुले पनि नदेखाएका कारण सुरक्षा अपनाएर स्तनपान गराउन आग्रह गरे ।

यस्तै, हालसम्म देशभर ५८ हजार ९७१ जनाको स्वास्थ्य परीक्षण गरिएको भन्दै डा. देवकोटाले १२ हजार ११ जनाको ‘पीसीआर’ र ४६ हजार ८६० जनाको ‘आरडीटी’ परीक्षण गरिएको जानकारी दिए ।

यस्तै, देशभर २३ हजार ३३६ जना सरकारले तोकेको क्वारेन्टाइनमा रहेका र देशभर ८० जना ‘आइसोलेसन’कक्षमा रहेका पनि उनले जानकारी दिए ।

दादुराविरुद्धको खोप कार्यक्रम सुरु

यस्तै, पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका स्वास्थ्य प्रशासक डा. झलक शर्माले हालसम्म १७५ जनामा दादुरा पुष्टि भएको र दादुरा अतिप्रभावित जिल्लामा दादुरा रोगविरुद्धको खोप कार्यक्रम सुरु गराइएको जानकारी दिए ।

तीन महिनाको लागि खोप मौज्दात रहेको र खोप कार्यक्रम नियमितरुपमा सञ्चालन गराउन पनि उनले सबैलाई आग्रह गरे ।

स्वास्थ्य सेवा विभागले जारी गरेको निर्देशनसहित खोप सेवा सुरु गराउनुपर्ने डा. शर्माले बताए ।

भिडियो हेर्नोस्