Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


घरमै बसेर संगीत सिर्जना


0
Shares

काठमाडौं, वैशाख १८ । कोरोनाभाइरसका कारण लामो समयदेखि नेपाली समाज पनि ‘लकडाउन’को अवस्थामा छ । तर, यही लकडाउन पनि कतिपयका लागि सिर्जनाको समय बनेको छ ।

नेपाली संगीतकर्मीहरुले फुर्सदको समयको सदुपयोग गर्दै आफ्ना सिर्जना पस्किरहेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण विश्वका धेरै देश प्रभावित भएका छन् । जसबाट नेपाल पनि अछुतो छैन ।

सोही कारण देशभर लकडाउन छ भने लकडाउनका कारण सबै क्षेत्रमा प्रभाव परेको छ । लकडाउनको प्रभाव नेपाली कला क्षेत्रमा पनि देखिएको छ ।

चैत र वैशाखको महिनामा देश तथा विदेशका कार्यक्रममा व्यस्त रहने कलाकारहरु घरमै ‘सेल्फ क्वारेन्टाइन’मा बसिरहेका छन् ।

भनिन्छ, कला तथा सिर्जनालाई केहीले पनि रोक्न सक्दैन । यही भनाइको उदाहरण नेपाली गायक–गायिका तथा संगीतकर्मीहरुले दिएका छन् ।

लकडाउनले देश तथा विदेशमा हुने कार्यक्रमबाट बञ्चित बनेका स्रष्टाहरु घरमै बसेर संगीत सिर्जनामा व्यस्त रहेका छन् ।

योगेश्वर अमात्य, जेम्स प्रधान, दीपक बज्राचार्य, सञ्जय श्रेष्ठ, उदय सोताङ, मनिला सोताङ, सत्यराज आचार्य, स्वरुपराज आचार्य, उदेश श्रेष्ठ, प्रविशा अधिकारी, प्रताप दासलगायत थुप्रै गायक–गायिका तथा संगीतकर्मीहरुले गीत तथा भिडियो सार्वजनिक गरिसकेका छन् भने कतिको गीत तथा भिडियो सार्वजनिक हुनेक्रममा छ ।

कति गायक–गायिका तथा संगीतकर्मीहरुले सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष प्रस्तुति पस्किरहेका छन् ।

एउटै गीतमा धेरै कलाकारहरुको स्वर तथा अभिनय रहेपनि ती सबै, गायक–गायिका तथा संगीतकर्मीहरुले आफ्नै घरमा आफूसँग उपलब्ध भएका स्रोत–साधनबाटै उत्पादन गरेका हुन् ।

लामो लकडाउनले विभिन्न तनाव तथा मानसिक समस्या देखापर्न सक्ने भएकाले यो समयलाई सिर्जनशील काममा उपयोग गर्नसके सबैलाई राम्रो हुने उनीहरुको धारणा छ ।

भनिन्छ, संगीत हर समयको साथी हो । संगीतले ऊर्जा प्रदान गर्दछ । हरेक परिस्थितिसँग सम्बन्धित गीत–संगीत सिर्जना भएका छन् भने परिस्थितिसँग मेल खाने गीत सुन्न नरुचाउने कमै होलान् ।

कुनै विषयमा सचेतना फैलाउनु परेमा पनि गीत–संगीतलाई उत्कृष्ट माध्यम मानिन्छ । अहिलेको परिस्थितिमा सार्वजनिक भएका गीतले सचेतना प्रदान गरिरहेका छन् भने सर्वसाधारणलाई पनि सिर्जनशील बन्न प्रेरित गरेका छन् ।