
नृपराज हमाल (इमेज)
हुम्ला, असार २ । हुम्लामा हेलिकोप्टरमार्फत् एक सुत्केरी महिलाको उद्धार गरिएको छ ।
चंखेली गाउँपालिका वडा नम्बर–३, मेखालाकी २४ वर्षीया कल्पना रोकायाको स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसकिने भएपछि हेलिकोप्टरमार्फत् उद्धार गरी जिल्ला अस्पताल सिमकोट ल्याइएको हो ।
शुक्रबार राति १० बजेतिर उनलाई सुत्केरी व्यथा लागेको थियो । तर, स्थानीय स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुले सुत्केरी गराउन सकेनन् ।
त्यसपछि उनलाई हेलिकोप्टरमार्फत् उद्धार गरी सिमकोटमा ल्याइएको जिल्ला अस्पताल हुम्लाका प्रमुख डा. रञ्जितकुमार यादवले जानकारी दिए ।
जिल्ला अस्पतालमा ल्याएपछि उनलाई सामान्यरुपमा सुत्केरी गराइएको र आमा तथा बच्चाको अवस्था सामान्य रहेको डा. यादवले बताए ।
सुत्केरी रोकायाको पहिलो सन्तानकारुपमा छोरा जन्मिएको उनका श्रीमान् कलबहादुर रोकायाले बताए ।
प्रतिक्रिया दिनुहोस्