पोखरा । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ पोखरामा बुधबार १७ औं असारे रोपाइँ महोत्सव मनाइएको छ ।
विदेशी पर्यटकसँगै आन्तरिक पर्यटक लक्षित गरेर पोखरा पर्यटन परिषद्ले महोत्सव आयोजना गरेको हो । पोखरा–२५, हेम्जाको माइस्थानमा करिब १० रोपनी खेतमा भएको रोपाइँ महोत्सवमा पर्यटन व्यवसायीसहित किसान उत्साहित थिए ।
महोत्सवमा विदेशी पर्यटक नेपालीसँगै रमाइलो मानेर हिलो छ्यापाछ्याप गरेका थिए । विदेशीहरूले पनि त्यहाँ आयोजना गरिएको विभिन्न प्रतियोगितामा भाग लिए । उनीहरू उक्त महोत्सवलाई विशेष चासोका साथ हेरेका थिए ।
खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिपे्ररित गर्नु तथा परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्ने मुल उद्देश्यका साथ २०६१ सालदेखि परिषद्ले असारे रोपाइँ महोत्सवको आयोजना गर्दै आएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सवलाई निरन्तरता दिइएको जानकारी दिनुभयो । सहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिन पनि महोत्सव फलदायी हुने उहाँको भनाइ छ ।
महोत्सवमा साउने प्रतियोगिता, आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने सहित दौड प्रतियोगिता भएका थिए । यसैगरी, रस्साकसी प्रतियोगिता एवं उत्कृष्ट कृषक तथा समाजसेवीको सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम भएको थियो ।
महोत्सवमा करिब २ सय विदेशी पर्यटकको सहभागिता रहेको महोत्सव संयोजक एवं परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
बढ्दो प्लटिङले खेती गर्ने जमिन नासिँदै जाँदा महोत्सवले कृषकको समस्या सम्बोधन गर्नुको सट्टा शहरमा बस्नेहरूका लागि मनोरञ्जनस्थल बनेको भान हुन्थ्यो । अधिकांश मानिस हिलोमा छिरेर टिकटक बनाउनदेखि सेल्फी खिच्न व्यस्त देखिन्थे ।
महोत्सवस्थलमा रमाइलो भइरहँदा नजिकैका खेतहरूमा किसानले निरन्तर काम गरिरहेका थिए । उनीहरू समयमै मल बिउ नपाउँदा खेती गर्नै समस्या भएको गुनासो गर्दै थिए ।
महोत्सवमा सहभागी पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरको बजेट कृषिमैत्री रहेको भन्दै कृषकका समस्या समाधान गर्न महानगर तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्