Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


बाराको जीतपुर–सिमराका दुईओटा वडा ‘सिल’


0
Shares

बारा, वैशाख १७ । भारतको दिल्लीमा तबलिगी जमातको धार्मिकसभामा सहभागी भएर आएका बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका दुईजनामा कोरोनाभाइरस ‘पोजिटिभ’ देखिएपछि स्थानीय प्रशासनले बुधबार दिउँसोदेखि वडा नम्बर–७ र १९ लाई ‘सिल’ गरेको छ ।

वडा नम्बर–७ का ४७ वर्षीय सहाबुदिन अन्सारी र वडा नम्बर–१९ का ३१ वर्षीय अब्दुल गफारमा कोरोना पोजिटिभ देखिएको हो ।

वडाहरु सिल गरेलगत्तै दुवैका परिवारलाई सिमरास्थित अस्थायी क्वारेन्टाइन अस्पतालमा ल्याउन प्रहरी परिचालन गरिएको छ भने उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

जीतपुरबजार केही खुकुलो रहेपनि पूरै वडा सिल गरी आउ–जाउमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

ती वडाहरुमा गरिने स्वास्थ्य परीक्षणको रिपोर्ट नआएसम्म सिल गरिने प्रशासनले जनाएको छ ।

बारामा ‘लकडाउन’को कार्यान्वयन निकै फितलो रहँदै आएको थियो ।