Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने मन्त्री श्रेष्ठको घोषणा


2.4k
Shares

काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने कुरामा विशेष जोड दिने बताउनुभएको हो । उहाँले आफू सांसद भएदेखि शुरु भएको कामलाई पूर्ण गर्न हस्ताक्षर गरेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको र त्यसलाई उकास्न अध्ययन प्रतिवेदनसमेत तयार भइसकेकोले ती प्रतिवेदनका आधारमा ७ दिनभित्र कार्यन्वयन गरेर जाने विषयमा हस्ताक्षर गरेको पनि बताउनुभयो ।

उहाँले पर्यटन क्षेत्रलाई माथि उठाउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

‘विश्व सम्पदा सूचीमा रहेका हनुमान ढोका र स्वयम्भूलाई जोड्ने गरेर सम्पदा मार्ग बनाउने भनेर धेरै काम भइसकेको छ, त्यो कामलाई प्रारम्भ गर्नेछौं,’ उहाँले भन्नुभयो, ‘पर्यटक वृद्धिलाई उच्च प्राथमिकता दिएर पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने बारेमा विशेष पहल गर्नेछु ।’

मन्त्री श्रेष्ठले आफूले गरेको पहिलो निर्णयलाई दृढताका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।