भरतपुर, वैशाख १६ । भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले छापा मारेको छ ।
अस्पतालका कर्मचारीले नै सामान ओसार्दै गरेको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि अख्तियारले मंगलबार छापा मारेको हो ।
दिउँसो १ बजे अस्पताल प्रवेश गरेर अख्तियारको टोलीले अस्पताल र भरतपुर महानगरपालिकाका कर्मचारीलाई सोधपुछ गरेर आवश्यक अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएको अख्तियाार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाका कार्यालय प्रमुख शिवकुमार कार्कीले राससलाई जानकारी दिए ।
उनले विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानका लागि छापा मारेको बताए ।
अनुसन्धानपश्चात् थप प्रक्रिया अघि बढाइने कार्कीको भनाइ छ ।
चैत ७ गतेदेखि सञ्चालनमा आएको सो अस्पताल भरतपुर महानगरपालिकाको अग्रसरतामा सञ्चालनमा आएको हो ।
चैत २१ गते सो अस्थायी अस्पताल भरतपुरको सरकारी अस्पताल मातहत सञ्चालन हुने निर्णय भएको थियो ।
सोमबार कर्मचारीले सामानहरु ओसारेको भिडियो सार्वजनिक भएको थियो ।
अस्पताल सञ्चालनका लागि गठन भएको कोरोना नियन्त्रण कार्यदलले भने सामान चोरी भएको नभइ प्रक्रियाअनुरुप सामानहरु ओसारेको दाबी गरेको छ ।
कार्यदलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कार्यदलको स्टोर र कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोर एउटै ठाउँमा भएकाले व्यवस्थितमात्रै गरिएको भन्दै चोरी प्रकरणको बचाउ गरेको हो ।
कार्यदलका सदस्यसचिव डा. भोजराज अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘कोरोना विशेष अस्थायी अस्पताललाई भरतपुर अस्पतालले सञ्चालन गर्ने सहमतिपश्चात् सम्पूर्ण अस्पतालको बरबुझारथ गर्नुपर्ने भएकाले एकै ठाउँमा रहेका स्टोरलाई व्यवस्थित गरिएको हो ।’
कार्यदलको सोमबारको बैठकमा चैत महिनासम्म अस्पतालमा रु एक करोड २६ लाख खर्च भएको विवरण पेस गरिएको थियो ।
यस्तै, भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोरमा भएको घटनाको छानबिनका लागि गठित छानबिन टोलीका संयोजक चितवन उद्योग संघका अध्यक्ष एवं कार्यदलका संयोजक राजु पौडेलले आफू जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको जनाएका छन् ।
भरतपुर कोरोना नियन्त्रण कार्यदलले मंगलबार एक विज्ञप्ति जारी गर्दै पौडेलको संयोजकत्वमा छानबिन टोली गठन गरिएको जनाएको थियो ।
सो विज्ञप्ति जारी गरिएको दुई घन्टापश्चात् संयोजक पौडेलले आफू सो जिम्मेवारी निर्वाह नगर्ने घोषणा गरेका हुन् । रासस








प्रतिक्रिया दिनुहोस्