
जनकपुर, बैशाख १६ । जनकपुर उपमहानगरपालिकाले लकडाउनको एक महिनापछि कुहिएको चामलसहितका खाद्य सामग्री राहत वितरण गरेको छ ।
प्रदेश सरकारबाट रकम पाएको करीब तीन सातापछि उपमहानगरपालिकाले कुहिएको र ढुसी लागेको चामल वितरण गर्दा नगरवासी निकै दुखी भएका छन् ।
उनीहरुले भोकमरीमा उपमहानगरपालिकाले गरीब विपन्नको मजाक बनाएको भनी गुनासो गरेका छन् ।
जनकपुरधाम वडा नम्बर १६ कपिलेश्वरमा वडामार्फत उपहानगरपालिकाले वितरण गरेको चामल ढुसी लागेको पाइएको हो ।
प्रदेश २ सरकारले मजदुर र अति विपन्न परिवारलाई लकडाउनको अवधिमा राहत दिन जनकपुर उपमहानगरपालिकालाई दिएको रकम बराबर थप गरी ४० लाख रुपैयाँ बराबरको राहत वितरण गर्न २० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
घटना सम्बन्धमा वडाध्यक्ष रामआशिष पजियारले अहिलेसम्म २ सय ३९ परिवारलाई वितरण गरेकोमध्ये २ जनालाई कुहिएको चामल परेको बताए ।
तर आफुूले थाहा पाउनासाथ त्यो चामल फिर्ता लिई नयाँ राहत प्याकेट दिएको उहाँको भनाइ छ । उपमहानगरपालिकाले सिलप्याक बोरासहितको राहत उपलब्ध गराएकाले यसमा आफू दोषी नरहेको उहाँले दाबी गरे ।
जनकपुर उपमहानगरपालिकाले राहत वापत १५ किलो चामल, नून एक प्याकेट, एक लिटर तेल, साबून एकवटा र दाल, आलू, प्याज, आँटा वापत नगद ३ सय रुपैयाँ वडाहरुमा वितरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्