दाहालको चाहनाले सत्ता गठबन्धनमा तरङ्ग « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


दाहालको चाहनाले सत्ता गठबन्धनमा तरङ्ग

देउवाको मिसन र थापाको दावेदारीले चुनौती

7.124k
Shares

काठमाडौं । दोस्रो जनआन्दोलनपछि बनेको सबै प्रधानमन्त्री आफूले नै बनाएको दाबी गर्दै आउनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पुनःमुलुकको भागडोर सम्हाल्ने चाहना व्यक्त गर्नुभएको छ ।

२०६५ सालमा ९ महिना र २०७३ सालमा ११ महिना प्रधानमन्त्री हुनुभएका अध्यक्ष दाहालको संघ र प्रदेशको सम्मुखमा फेरि प्रधानमन्त्री हुने चाहनालाई अर्थपूर्ण रूपमा हेरिएको छ । दाहालको सार्वजनिक चाहनासँगै मुलुकको राजनीति र विशेषगरी सत्तारुढ गठबन्धनमा तरङ्ग सिर्जना भएको छ ।

पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीलाई ३ वटै तहको निर्वाचनमा पहिलो बनाएर आगामी सरकारको नेतृत्व पनि आफैँ गर्ने मिसनसाथ अगाडि बढिरहनुभएको छ ।

प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाको त्यही अभियानअनुसार नै गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल बन्न पुगेको छ । सभापति देउवाको अबको ध्यान आगामी संघ र प्रदेशको चुनावबाट कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाउने र त्यसपछि पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्नेतिर केन्द्रित छ ।

यसको लागि देउवा वर्तमान पाँच दलीय गठनन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिएर अर्को शक्तिशाली दल नेकपा एमालेलाई कमजोर बनाउने रणनीतिमा हुनुहुन्छ । तर, देउवाको रणनीतिमा धक्का पुग्नेगरी गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले आफू पुनः प्रधानमन्त्री बन्ने चाहना व्यक्त गर्नुभएको छ ।

दाहालको चाहनाको अर्थ हो, आगामी निर्वाचनपछि पाँच दलीय गठबन्धनको तर्फबाट आफू प्रधानमन्त्री बन्ने अप्रत्यक्ष घोषणा । दाहालको प्रधानमन्त्री बन्ने चाहनासँगै पाँच दलीय गठबन्धनमा पुनःविवादको विजारोपण हुने देखिन्छ ।

किनकी कांग्रेसलाई पहिलो पार्टी बनाएर प्रधानमन्त्रीमा निरन्तर रहने देउवाको रणनीति र पुनः प्रधानमन्त्री बन्ने दाहालको चाहनाबीच वर्तमान गठबन्धनले निरन्तरता पाए पनि आगामी निर्वाचनपछि गठबन्धनको तर्फबाट को प्रधानमन्त्री बन्ने विवाद उत्पन्न हुने निश्चित छ ।

त्यसो त देउवाको मिसन र रणनीति आफ्नै पार्टीभित्र पनि चुनौतीपूर्ण छ । कांग्रेस महामन्त्री गगन थापाले आगामी संघ र प्रदेशको निर्वाचनपछि प्रधानमन्त्रीमा आफ्नो दावेदारी रहने सार्वजनिक गरिसक्नुभएको छ । महामन्त्री थापाको उक्त दावेदारीमा अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि समर्थन रहेको छ ।

महामन्त्री थापाको दावेदारी सभापति देउवाको लागि मात्र नभई माओवादी केन्द्रका अध्यक्ष दाहालको चाहनामा पनि चुनौती बन्ने देखिन्छ । महामन्त्री थापाको युवा पुस्ताबीच लोकप्रियता देखिन्छ भने कांग्रेसभित्र पुस्तान्तरको विषय जल्दोबल्दो एजेण्डाको रूपमा देखिन्छ ।

कांग्रेसभित्र अझैपनि गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने आवाज निकै बलियो छ, जसको नेतृत्व स्वयं महामन्त्री थापाले गरिरहनुभएको छ । यसकारण पनि देउवाको मिसन, दाहालको चाहना र थापाको दावेदारीले सत्ताको बागडोर सम्हाल्ने विषयमा आगामी निर्वाचनपछि मुलुकको राजनीति पुनः एकपटक दिशाहीन हुने संकेत देखिन्छ ।