
बझाङ । चर्चित गायक लोकबहादुर क्षेत्रीको ‘आमा रुँदै गाउँबेसी मेलैमा…’ गीत थलारा गाँउपालिकाकी ७० वर्षीया भानमतिदेवी उपाध्याय जीवनमा ठ्याक्कै मेल खाएको छ ।
२२ वर्षअघि भारत गएको छोरा रामप्रसाद उपाध्यायको बाटो कुरेर बसेकी उनको दैनिकी गीतमा भनेझैँ ‘आज आउला भोलि आउला वर्षौं बितिगयो, छोरो आउला भन्दा भन्दै आधा उमेर गयो’ पीडादायी छ ।
छोरो आउला र आफ्नो चिता जताउँला भन्ने उनको आशा अब निराशमा परिणत हुन थालेको छ । आफन्त र छिमेकीले पनि धेरै खोजी गरे तर रामप्रसाद अझै फेला पर्न सकेनन् । जीवित छन् वा छैनन्, त्यो पनि थाहा छैन ।
तर, उमेर ढल्किएकी आमा भने तिनै छोराको बाटो कुरेर बसेकी छन् । २०४७ सालमा श्रीमान्को मृत्युपछि एक्लै बाँचेरहेकी भानमतिदेवी २०५७ मा जेठा छोरा रामप्रसाद उपाध्यायले पनि छोडेपछि एक्ली भएकी छन् ।
रोजगारीका लागि घरबाट भागेर १८ वर्षको उमेरमा भारत छिरेका रामप्रसादको अहिलेसम्म अत्तोपत्तो छैन । उनीसँगै भारत छिरेका साथीहरू ओहोरदोहोर गरेको धेरै वर्ष भयो तर अहँ उनी भने अझै नफर्किएकाे आमा भानमतिदेवी बताउँछिन् ।

भानमतीदेवीको अरु दुई छोरीसमेत बिहे गरेर गएपछि आमाको घरमा फर्किएका छैनन् । छरछिमेकबाट सामान्य सहयोग पाउँदै आए पनि उनको मनको पीडा ज्यूँकात्यूँ छ ।
स्थानीय समाजसवी युवा नारायणप्रसाद उपाध्यायले रामप्रसादको खोजखबर धेरै गरेको भए पनि अहिलेसम्म सास वा लाशको खबर पाउन नसकिएको बताउँछन् ।
रोजगारीका लागि भारतको मसुरी पहाड गएका रामप्रसाद त्यहाँबाट भारतकै देहरादुन पुगेकोसम्म घरपरिवारलाई थाहा छ । तर, त्यसपछि कहाँ गए भन्ने जानकारी कसैलाई नभएको छिमेकी धर्मदेव उपाध्यायको भनाइ छ ।
कानले राम्रो सुन्न नसक्ने भानमतिदेवीको एउटै चाह छ, रामप्रसाद चाँडै घर फर्कियोस् । तर, चाहना पूरान नहुँदै परलोक हुन्छु कि भन्ने चिन्ताले पनि सताउँछ आजकल उनलाई । बेपत्ता छोरोको खोजी गरिदिन उनले सरकारसँग आग्रहसमेत गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्