अमेरिकामा ब्यक्तिगत बन्दुक राख्ने अधिकार झन् फराकिलो « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


अमेरिकामा ब्यक्तिगत बन्दुक राख्ने अधिकार झन् फराकिलो


3.237k
Shares

काठमाडौं । अमेरिकामा ब्यक्तिगत बन्दुक राख्ने अधिकार कटौती गर्नुपर्ने बहस चलिहरेका बेला त्यहाँको सर्वोच्च अदालतले उक्त अधिकारलाई झन् फराकिलो बनाईदिएको छ ।

सर्वोच्च अदालतले घरबाहिर बन्दुक बोकेर हिंड्न उचित कारण प्रस्तुत गर्नुपर्ने न्युयोर्क राज्यको कानूनलाई खारेज गर्दै बन्दुक बोक्ने अधिकारलाई पुन:स्थापित गरिदिएको हो । सर्वोच्च अदालतले ब्यक्तिले घरबाहिर जाँदा लुकाएर बन्दुक बोक्नका लागि उचित अथवा सही कारण देखाउनुपर्ने कानूनी प्रावधानले अमेरिकी संविधानको उल्लंघन गरेको ठहर समेत गरेको छ ।

सर्वोच्च अदालतका ६ जना कन्जरभेटिभ न्यायाधीशहरुको तर्फबाट फैसला लेख्दै न्यायाधीश क्लेरेन्स थोमसले अमेरिकी नागरिकले आफ्नो सुरक्षाका लागि सार्वजनिक स्थानमा बन्दुक बोक्न पाउने आदेश दिएका हुन् । सर्वोच्च अदालतमा न्यायाधीश कन्जरभेटिभको बहुमत रहेको छ । तीन जना लिबरल न्यायाधीशले भने आदेशप्रति फरक मत राखेका छन् ।

सर्वोच्चको यो आदेशले क्यालिफोर्निया, न्युजर्सी, मेरिल्याण्ड, हवाई, म्यासाच्युसेट जस्ता राज्यहरुले बन्दुक बोक्ने अधिकार खुम्च्याईरहेकोमा ती कानुनलाई पनि अवैध बनाईदिएको छ । गत महिना मात्रै तीन वटा सार्वजनिक स्थानमा बन्दुक आक्रमण भएपछि बन्दुक बोक्ने अधिकार कटौतीको बहस चलिरहेको बेला सर्वोच्चको यस्तो आदेश आएको हो ।

अमेरिकाका राष्ट्रपति जाे बाइडेनले सर्वोच्चको आदेशप्रति निराशा ब्यक्त गर्नुभएको छ। बन्दुके अधिकार कटौतीका अभियन्ता पनि चिन्तित भएका छन् ।