१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


अफगानिस्तानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार नाघ्यो


221
Shares

काठमाडौं । अफगानिस्तानमा बुधबार गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार नाघेको छ ।

करिब १५ सय भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् ।

मृत्यु हुनेहरुमा बालबालिकाको संख्या धेरै रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भारी वर्षाका कारण उद्दार कार्यमा कठिनाई भएको जनाएका छन् । भूकम्पका कारण धेरै जसो माटोका घरहरुमा क्षति पुगेको बताइएको छ ।

सञ्चार सञ्जाल प्रभावित हुँदा वभिन्न प्रान्तमा उद्धार कार्य कठीनाई भएको भन्दै तालिबान सरकारले अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेको छ ।

सबैभन्दा बढी प्रभावित पक्तिका प्रान्तका दुर्गम क्षेत्रहरूमा आपतकालीन आश्रय र खाद्यान्न सहायता उपलब्ध गराउने प्रयास भईरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेर्रेसले विपद्का लागि उद्धारकर्ताहरु पूर्ण रुपमा परिचालन गरिएको बताउनुभयो । राष्ट्रसंघका अनुसार स्वास्थ्य टोली, स्वास्थ्य सामग्री, खाद्यान्न र आपतकालीन आश्रयस्थलको व्यबस्थाका लागि भूकम्पग्रस्त क्षेत्रमा पुगेको छ ।

भूकम्पका कारण अफगानिस्तानको स्वास्थ्य प्रणाली नै संकटमा पर्नसक्ने चेतावनी दिइएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको स्थान पूर्णरुपले ध्वस्त भएको र धेरै मानिसहरुको हताहति भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।