संघ र प्रदेश निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणाको लहर « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


संघ र प्रदेश निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणाको लहर

दलहरूले पुरानो प्रवृत्ति र लिँडेढिपी नत्यागे ठूलै क्षति बेहोर्ने विश्लेषकको विश्लेषण

4.238k
Shares

काठमाडौं । आगामी संघ र प्रदेश निर्वाचनको मिति तय नहुँदै स्वतन्त्र उम्मेदवारी घोषणाको लहर चलेको छ ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले पाएको मतका कारण स्वतन्त्र उम्मेदवारीको लहर चलेको हो ।

बलियो विरासत र सशक्त संगठनविना चुनाव जितिन्न भन्ने मनोविज्ञान तोड्दै गत स्थानीय तह निर्वाचनमा राजधानीसहित देशका मुख्य शहरमा नै स्वतन्त्र उम्मेदवार जनप्रतिनिधि बनेपछि स्वतन्त्र उम्मेद्वारीप्रति आकर्षण बढेको हो ।

चर्चित टेलिभिजन प्रस्तोता रवि छामिछानेले मंगलबार सात संकल्पसहित राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभयो ।

सुरुमा अस्तित्वमा रहेकै दलमध्येबाट राजनीति गर्ने चर्चा चले पनि अन्ततः लामिछानेले अलग्गै पार्टी घोषणा गर्नु पछाडि टेलिभिजन प्रस्तोताका रूपमा कमाएको चर्चालाई मुख्य आधार बनाएको देखिन्छ ।

लामिछाने जसरी अलग्गै दल नबनाए पनि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको लहर नै चलेको छ ।

अघिल्लो स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा प्रतिस्पर्धा गरेर सम्मानजनक भोट ल्याउन सफल रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौ महानगरको मेयरमा प्रतिस्पर्धा गर्नुभएका सुमन सायमीले पनि आगामी निर्वाचनमा काठमाडौ निर्वाचन क्षेत्र नम्बर ८ बाट उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।

रेडियो नेपालमा लामो समयसम्म पत्रकारिता गर्नुभएका पत्रकार हरिशरण लामिछानेले पनि सामाजिक सञ्जालमार्फत आगामी निर्वाचनमा उम्मेदवारी दिने हुनुभएको छ ।

काठमाडौं निर्वाचन नम्वर १ बाट विवेकशील साँझाका पूर्वनेता पुकार बम, काठमाडौं ४ आकर्षण पोखरेल र काठमाडौ ६ बाट अब्दुस मियाँले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण र राजनीतिमा नयाँ अनुहारको प्रवेशको संकेत के हो त ?

अहिलेको परिवेशमा पार्टीको संघर्षको लामो इतिहास देखाउनुपर्ने अवस्था नरहेको तथा जनताले पार्टीहरूलाई अविश्वास गर्दा स्वतन्त्र उम्मेदवारी घोषणाको लहर चलेको राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमानसिंह कार्की बताउनुहुन्छ ।

स्वतन्त्र उम्मेदवारीप्रति आम मतदाताको आकर्षण र उम्मेदवारी घोषणाको प्रतिस्पर्धा पुराना तथा स्थापित राजनीतिक दलहरूको लागि भने चुनौती भएको विश्लेषक कार्की बताउनुहुन्छ । राजनीतिक पार्टीले पुरानो प्रवृत्ति सोचलाई नत्यागेर आफ्नै लिँडेढिपीमा अघि बढेको अवस्थामा उनीहरूले अझै ठूलो क्षति बेहोर्नुपर्ने उहाँको भनाइ छ ।

हुन त यस अघि पनि वैकल्पिक राजनीतिक दल गठन गरेर नयाँ अनुहार राजनीतिमा नआएको होइन ।

२०७४ सालको निर्वाचनको सम्मुखमा वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषसहित साझा पार्टी गठन गरे पनि एकपछि अर्को गरी राजनीतिमा असफल बन्न पुग्दा रविन्द्र मिश्र हाल निष्क्रिय बन्नुभयाे ।

तर, यही स्थानीय चुनावको नतिजा देखेर राजनीतिमा नयाँ अनुहार बनेर आउन चाहना राखेकाहरू कति सफल हुन सक्छन्, आगामी दिनले देखाउनेछ ।