२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


थप ४ जना डिस्चार्ज, कोरोना जितेर घर फर्किनेको संख्या १६, संक्रमित ५१ पुगे


0
Shares

काठमाडौं, बैशाख १४ । नोपलमा कोरोना संक्रमण भएका मध्ये आइतबार थप चार जना निको भई घर फर्किएका छन् । योसहित १६ जना उपचारपछि निको भई घर फर्किएका हुन् ।

नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा उपचाररत रौतहटका १९ वर्षीय युवा कोरोना निको भएर घर फर्किएका छन् । उनी कोरोना संक्रमण पुष्टि भएको १२ औं दिनमा निको भएका हुन् ।

सोही अस्पतालमा उपचाररत अरु तीन जनापनि डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

देवकोटाका अनुसार धनगढीमा १, वीरगन्जमा ३, भरतपुरमा १ र विराटनगरमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको र उनीहरु सबैको अवस्था सामान्य रहेको पनि देवकोटाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा आइतबार वीरगञ्जकै २ जनामा कोरोना संक्रमण पुष्टि भएकाले संक्रमितको संख्या भने ५१ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।