
नारायणी लामिछाने (इमेज)
काठमाडौं, वैशाख १३ । कोरोनाभाइरसले विश्व नै ठप्प हुँदाको असर नेपालको अर्थतन्त्रमा पनि परेको छ ।
अर्थ मन्त्रालयले करिब दुई खर्ब रुपैयाँसम्म लगानी वृद्धि गर्नुपर्ने आँकलन गरिरहेको बेला विज्ञहरुले भने उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न सुझाव दिएका छन् ।
आगामी वर्षको बजेटमा कृषि, स्वास्थ्य तथा उद्योग क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याउने तयारी अर्थ मन्त्रालयले गरिरहेको छ ।
‘कोभिड–१९’ का कारण नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ मा सीमित रहने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ ।
नेपालको विप्रेषण आप्रवाह २० प्रतिशतसम्म खुम्चन सक्ने विश्व बैंकले प्रक्षेपणसमेत गरेको छ ।
‘लकडाउन’का कारण पर्यटन क्षेत्रमा एक खर्बसम्म लगानी वृद्धि गर्नुपर्ने पर्यटन मन्त्रालयले बताएको छ ।
अर्थविद्हरु भने सरकारले प्रभावित क्षेत्र पहिचान गरी सो क्षेत्रमा परेको प्रभावकोे आधारमा बजेट ल्याउनुपर्ने बताउँदै आएका छन् ।
अर्थविद् केशव आचार्य सरकारले सम्भावित क्षेत्रको जोखिमको आधारमा कार्यक्रम ल्याउन सकेमा अर्थतन्त्र चलायमान बनाउन सकिने बताउँछन् ।
यस अवधिमा विभिन्न ठूला उद्योग बन्द भएका कारण रोजगारी गुमेको छ ।
यस अवधिमा राजस्व संकलनमा समेत ८० प्रतिशतसम्म कमी आएको अर्थ मन्त्रालयले जनाएको छ ।
यस अवधिमा जनजीवन सामान्य बनाउनको लागि उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने अर्थविद् आचार्यको भनाइ छ ।
यस समयमा सरकारले निजी क्षेत्रसँग सहकार्य गरी रोजगारी सिर्जनामा जोड दिनुपर्ने उनको भनाइ छ ।
कोभिड–१९ का कारण सम्पूर्ण आर्थिक क्रियाकलाप प्रभावित भएका छन् भने अर्कातिर रोजगारीसमेत गुमेको छ ।
यस्तो बेलामा युवालाई सीप सिकाएर आर्थिक क्रियाकलापलाई निरन्तरता दिनु आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्