भारत बन्दका कारण आज विभिन्न राज्यहरु प्रभावित « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


भारत बन्दका कारण आज विभिन्न राज्यहरु प्रभावित

२० जिल्लामा इन्टरनेट बन्द, बिहारमा रेल सेवा नै स्थगित

22.737k
Shares

काठमाडौं । भारतमा नयाँ सैनिक भर्ति योजनाको विरोधमा आज (साेमबार) आह्वान गरिएको भारत बन्दका कारण विभिन्न राज्यहरु प्रभावित भएका छन् ।

अग्निपथ योजनाको विरोधमा उत्रिएका युवाहरूले आह्वान गरेको बन्दलाई विपक्षी पार्टीहरुले समेत समर्थन गरेका हुन् । उनीहरुले सरकारले अव्यवहारिक सैनिक भर्ति योजना ल्याएको भन्दै त्यो फिर्ता हुनुपर्ने माग गरेका छन् । बन्दबाट राजधानी नयाँ दिल्लीलगायतका शहरमा ट्राफिक ब्यवस्था चौपट भएको छ भने रेल वे सञ्चालन पनि प्रभावित भएको छ ।

भारत बन्दका कारण बिहारमा २ सय ५० वटा रेलले आफ्नो सेवा रद्द गरेका छन् । हालसम्म २० जिल्लामा इन्टरनेट सेवा बन्द गराएका छन् । भारत सरकारले १७ देखि साँढे २१ वर्ष उमेर समूहका युवा–युवतीहरूलाई जल, स्थल र वायु गरी तीन वटै सैन्य सेवामा चार वर्षको अल्पकालीन करारमा भर्ति गर्ने योजना ल्याएको हो । सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकास पाउने छन् । युवा जमातको विरोध यसमै रहेको छ ।

सरकारले रक्षा खर्च कटौती गर्ने बाहनामा लाखौँ युवाको अवसर खोसेको आन्दोलनकारीहरुको तर्क रहेको छ । आन्दोलनका क्रममा दर्जनौं रेल तथा सवारी साधनमा तोडफोड र आगजनी गरिएको छ । आन्दोलनका कारण कक्षा ९ र ११ को जारी परीक्षा समेत स्थगित गरिएकाे छ । विभिन्न राज्यबाट दर्जनौँ आन्दोलनकारी पक्राउ समेत परेका छन् ।