उपचारमा सहयोग पाए जमुनाको बाँच्ने आश « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


उपचारमा सहयोग पाए जमुनाको बाँच्ने आश

सकेका बेला सबैलाई सहयोग गरे

1.807k
Shares

बझाङ । बझाङको थलारा गाउँपालिकाकी जमुनादेवि विष्ट अहिले जीवन र मृत्युको दोसाँधमा छिन् । उनलाई कही कतैबाट उपचारको व्यवस्था भए बाँच्न सकिन्थोकि भन्ने आश भने मरेको छैन ।

‘पैसा भए उपचार हुन्थ्योकि,पैसा नभएर मृत्यु कुरेर बसेकी छु ’। उनले भक्कानिदै भनिन । उनकाे श्रीमानको मृत्यु भएको १४ वर्ष भएकाे छ । श्रीमानको मृत्यु भएपछि एकल जीवन निर्वाह गर्दै, घरको सम्पूर्ण कामकाज काँधमा लिएर बसेकी थलारा वडा नम्बर ९ की विष्ट अहिले स्तन क्यान्सरका कारण निकै ठुलो पीडामा छिन् ।

समाजमा सामान्य समस्या पर्दा सबैलाई सघाउने र भएको सहयोग गर्ने उनी अहिले अस्पतालको बेडमा छटपटाई रहेकी छन् । गत फागुन महिनामा बाँया स्तनमा सानो खटिरा (गाँठो) देखियो । उक्त गाँठोको उपचार गाउँघरका केही जान्ने बुझ्नेसँग सल्लाह गर्दा घरेलु उपचार गरे ठिक हुने भनेपछि घरेलु औषधि जडीबुटी गर्नमा व्यस्त भइन् । यो उनको रहर नभई बाध्यता थियो । उनलाई एक पटक जिल्ला अस्पताल पुगेर चाँज गर्ने मन थियो । तर आर्थिक अवस्था कमजोर भएकै कारण उनी अस्पतालसम्म पुग्न सकिनन् । गत फागुन महिनाभरी घरेलु औषधि उपचार गर्नमा नै बित्यो । क्रमिक रुपमा झनझन स्तनमा समस्या र पीडा बल्झिदै गएपछि छिमेकीसँग एक हजार ५ सय ऋण मागेर सदरमुकाम चैनपुर पुगिन । डाक्टरले उनलाई तुरुन्तै धनगढी जान सल्लाह दिएका थिए ।

एक छाकको जोहो गर्न पनि धौधौ हुने उनलाई पैसाको जोहो गर्नमा नै महिनौ दिन लाग्यो । अन्तिम विकल्प केही पनि नलागेपछि भएको खेतीयोग्य जमिन नै विक्री गर्नुपर्यो । गाउँकै छिमेकीसँग भएको खेतियोग्य जमिनलाई विक्री गरेर उपचारका लागि उनी धनगढी गइन् । धनगढीमा उपचार सुरु भयो । तर त्यहाँ उनले नसोचेकै र कल्पना नगरेकै समस्या देखापर्यो । उनको बाँया स्तनमा क्यान्सर भैसकेको रहेछ । अहिले औषधि सेवन गरेर उपचार गरिरहेकी छन् ।

अस्पतालकै बेडमा बस्नुपर्ने बिष्ट आर्थिक अभावकै कारण छिमेकीको घरको कोठामा बस्नु पर्ने बाध्यता आई लागेको छ । बस्ने ठाउँ पनि छैन । जग्गा विक्री गरेको रकम सबै सकिएको छ । भारतमा मजदुरी गरेर छोराले पठाएको रकम पनि सकिएको छ। उनको क्यान्सरको उपचारपनि भर्खर मात्रै सुरु भएको छ । भारतमा मजदुरी गरेर जेठा छोरा विकास र आफन्तले केही सहयोग गरेर पठाएको रकम सकिएपछि उनले रुदै भनिन् यस्तो रोगको बारेमा सोचेको र सुनेको थिएन ।

उपचारमा संलग्न चिकित्सकले रोग निको हुने भनेका छन् । तर पैसाको जोहो गर्नका लागि चिकित्सकले सल्लाह दिएकाे उनले बताइन्। उपचारमा संग्लग्न उनका कान्छा छोरा प्रकाशले भने “एक पटक केमो चढाउँदा कम्तिमा पनि ४० देखि ५० हजार लाग्दो रहेछ । जग्गा विक्री गरेर ल्याएको रकम त्यसैमा सकियो । औषधि किन्नका लागि पनि अब पैसा छैन् । एक ठाँउबाट अर्को ठाउँ जान पनि गाडी भाडा समेत पुर्याउन धौधौ छ । आफन्त जती सबैलाई सहयोग गरी दिन अपिल गरेको छु । अब असार १७ गते चिकित्सकले नेपालगंज बोलाउनुभएको छ । त्यति बेला सम्म कतै मजदुरी गर्ने ठाउँ पाए काम गर्थे। सानो रकम जम्मा गर्न पाएपनि आमाको उपचार गर्न हुन्थ्यो । जन्म दिने बुबा उपचार कै अभावमा मृत्युको मुखमा पुगेका थिए । अब आमाको उपचार गरेर बचाउन पाए हुन्थ्यो ।” उनले गह भरी आँसु पार्दै भने ।

घरमा खान लगाउन समस्या भएका कारण बाल्यकालमा नै दुवै छोरा भारतमा पुगेर मजदुरी गर्दै जीविका चलाउँदै आएका थिए । जेठा छोरा विकास अहिले पनि भारतमा नै छन् । तर कान्छा छोरा प्रकाश आमा बिरामी भएपछि नेपाल स्वदेश फर्किएर आमाको उपचारमा लागि परेका छन् । दुबै भाईको सल्लाहमा जेठा छोरा भारतमा नै बसेका हुन् । जेठा छोराले मजदुरी गरेर दैनिक रुपमा जति भयो खाईनखाई जम्मा भएको रकम आमाको उपचारका लागि पठाउने गरेका छन् । उनले पनि आफ्ना आफन्तसँग र सरकारसँग आमाको ज्यान बचाउँन पाए हुन्थ्यो भन्दै सहयोगको आश गरेका छन् ।