एसीसी महिला टि-२० च्याम्पियनसिपमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै « Imagekhabar – Online News Portal of Nepal
१९ असार २०७९, आईतवार | Sun Jul 3 2022


एसीसी महिला टि-२० च्याम्पियनसिपमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै


104
Shares

काठमाडौं । एसीसी महिला टि-२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज (शनिबार) दोस्रो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने भएकाे छ ।

मलेसियाको किनरारा मैदानमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार १२ः४५ बजे सुरु हुनेछ । नेपाल शनिबार लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । कुवेत भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा बिहीन बनेको थियो ।

कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । त्यसैले नेपाल आत्मविश्वासका साथ मैदान उत्रने छ ।च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । नेपाल १ खेलमा २ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । कुवेत १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्ने छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टि-२० एसिया कप क्रिकेटमा छनोट हुनेछ ।