२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


वाग्मती प्रदेशभित्र प्रवेश गर्नेलाई स्यानिटाइज गर्न निर्देशन


0
Shares

हेटौंडा, बैशाख १२ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न नाकाबाट वाग्मती प्रदेश प्रवेश गर्ने जो कोहीलाई पनि अनिवार्यरुपमा स्यानिटाइज गर्न निर्देशन दिए ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश नं २ बाट वाग्मती प्रदेशको राजधानी हेटौंडा भित्रिने यात्रुलाई स्यानिटाइज गर्न हेटौंडा उपमहानगरपालिकाले जडान गरेको स्वचालित स्यानिटाइजर मेशिनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले उक्त काम स्थानीय तहले गर्नुपर्ने र प्रदेश सरकारले सहयोग गर्ने बताए ।

उनले स्यानिटाइजरका लागि स्वचालित मेसिन प्रभावकारी हुने बताए । मुख्यमन्त्री पौडेलले प्रदेशका अत्यावश्यक सेवा दिनुपर्ने विभिन्न स्थानमा तत्काल यस्तै स्वचालित उपकरण जडान गरिने उल्लेख गरे ।

वडा नं १५ रातोमाटेमा जडान गरिएको अटोमेटिक स्यानिटाइजर मेशिनको मुख्यमन्त्री पौडेलले शुक्रबारबाटै शुरुआत गरे । उक्त मेशिनको प्रयोग गरेर पूर्वपश्चिम राजमार्गबाट रातोमाटे हुँदै हेटौंडा प्रवेश गर्ने यात्रु, चालक, सहचालकलगायतलाई अनिवार्यरुपमा स्यानिटाइज गरिने जनाइएको छ ।

एक पटकमा चार जनासम्मलाई स्यानिटाइज गर्न सकिने भए पनि भौतिक दूरी कायम गरी स्यानिटाइज गरिने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए ।

नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरेको उक्त स्वचालित स्यानिटाइजर उपकरण २०० लिटर क्षमताको रहेको र दुई हजारलाई स्यानिटाइज गर्न सकिने जनाईएको छ ।

उपकरणको मूल्य रु एक लाख ६० हजार पर्ने बताइएको छ । आफूहरुले निर्माण गरेको स्वचालित स्यानिटाइजर मेसिन प्रभावकारी रहेको र चितवनमा पनि यो प्रविधि जडान गरिएको उत्पादक संस्था नेपाल युवा उद्यमी मञ्चले जानकारी दिएको छ । रासस