जितको एकदम नजिक पुगेर हार्‍यौं : सन्दीप लामिछाने « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


जितको एकदम नजिक पुगेर हार्‍यौं : सन्दीप लामिछाने


806
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेले हारेका सबै खेल जितनजिक पुगेर हारेको बताएका छन् ।

अन्तिम खेलमा पराजित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै खेल जित्ने अवसर रहँदा पनि ब्याटिङमा विकेटको नियन्त्रण गर्न नसक्दा हार्न पुगेको बताए ।

कप्तान लामिछानेले ब्याटिङमा साना गल्तीहरू भइरहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिए । आफूलाई साथ दिने अन्य स्पिन बलरहरूले विकेट निकाल्न नसक्नु पनि थप समस्या बनेको बताए ।

कप्तान लामिछानेले खेल हार्नुमा अनुभवी खेलाडीको कमी भएको र आफू पनि कप्तानमा नयाँ तथा सबै खेलाडीहरू अनुभवहीन भएकोले सिक्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

आफूले पनि बलिङमा सोचेजस्तो राम्रो गर्न नसकेको भन्दै कप्तान लामिछानले अबका दिनमा कमजोरीलाई सुधारेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । आगामी खेलमा थप चुनौती रहेको भन्दै उनले खेलाडीलाई थप अभ्यास गराएर खेल राम्रो पस्कने बताए ।

अमेरिकासँगको हारसँगै नेपाल १६ खेलबाट १५ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ । ७ देश सम्मिलित समूह चरणमा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ ।

ओमानले लिग टू अन्तर्गतका सबै खेल खेलिसकेको छ । त्यस्तै २० खेलबाट २८ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छ ।

नेपाल भन्दामुनि छैटौं स्थानमा १४ खेलबाट १४ अंक जोडेको नामिबिया र २० खेलबाट २ अंक जोडेको पपुवान्युगिनी सातौं स्थानमा छन् । नेपालले अहिलेसम्म खेलेको १६ खेलमा ७ मा जित र ८ मा हार व्यहोरेको छ भने १ खेल बराबरी खेलेको छ ।

सिरिजअन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो । त्यस्तै तेस्रो खेलमा ओमानलाई ७ विकेटले पराजित गरेको नेपालले चौथो खेलमा अमेरिकासँग ३९ रनको हार व्यहोरेको छ ।