Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


मौसममा सुधार आउन केही दिन लाग्ने


0
Shares

काठमाडौं, वैशाख ११ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव कायमै रहेको र प्रिमनसुनी गतिविधि सक्रिय भएकाले बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

अंग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगातार प्रभावित भइरहने हुन्छ ।

अहिले प्रिमनसुनका साथै पश्चिमी वायुको प्रभाव रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद्को भनाइ रहेको छ ।

मौसमविद् अर्यालकाअनुसार नेपालको पश्चिमी भू–भागबाट पश्चिमी वायु विकसित हुनेक्रममै रहेकाले देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने छ ।

बिहीबार बिहान केही समय मौसम खुलेपनि अपराह्नपछि देशभर बदली भइ वर्षाको सम्भावना रहेको बताइएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा रहेको पश्चिमी वायु अझै सक्रिय हुनेक्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

हाल देशका पहाडी भू–भागमा सामान्य र तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा र मध्य र पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ ।

शुक्रार देशका मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ ।

यसका साथै शुक्रबार पहाडी भू–भागमा हावाहुरीकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ११.५ डिग्री र अधिकतम् तापक्रम २२.७ डिग्री सेल्सियस रहेको छ ।

बिहीबार सबैभन्दा कम जिरीको न्यूनतम् तापक्रम ७.६ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम् तापक्रम ३४.० डिग्री सेल्सियस रहेको छ । रासस