Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


खेलकुद मन्त्रीको नेतृत्वमा नेपाल बक्सिङ संघ रुस प्रस्थान


130
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघका पदाधिकारीसहित ८ सदस्यीय नेपाली टोली रुस प्रस्थान गरेको छ ।

बक्सिङ फेडेरेसन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा ८ सदस्यीय नेपाली टोली आज (सोमबार) रुसको मस्को प्रस्थान गरेको हो । रुस जाने टोलीमा खेलकुद मन्त्री गहतराजसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदका विभागीय प्रमुख मधु सुदन बस्नेत, मन्त्रीको निजी सचिव रोसन कुमार सुनार, संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुन बहादुर के.सी. संघका सदस्य मान बहादुर भण्डारी र प्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले रहेका छन् ।

रुस भ्रमणको दौरान दुवै देशको खेलकूद विकास र प्रवर्धनमा सहकार्य गर्न विभिन्न विषयहरूमा छलफल हुने बताइएको छ । नेपाल र रुसका बक्सिङ खेलाडीहरूको प्रशिक्षण आदान–प्रदान, बक्सिङ प्रशिक्षकहरूको क्षमता विकास र बृद्धीमा सहयोग गर्ने, नेपाल रुसबीच मैत्रीपूर्ण बक्सिङ एवं अन्य खेलकुद प्रतियोगिता आयोजना एवं सहभागिता गराउने, रुसको स्पोर्ट्स साईन्स कलेजमा नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति व्यवस्था गर्ने, हिमालय क्षेत्र पदयात्रा एवं दौडको आयोजना गर्ने, खेलकुदबाट पर्यटन प्रवर्द्धनमा विविध विधाहरूमा छलफल गर्ने र नेपालमा हाई अल्टिचुट बक्सिङ ट्रेनिङ सेन्टर स्थापना गर्ने लगायतका विषयमा छलफल हुने बताईएको छ ।

नेपाली टोलीले रसिया फेडरेशनको खेलकुद मन्त्री ओलेग मात्यिसन, अन्तराष्ट्रिय बक्सिङ फेडेरेसनका अध्यक्ष उमार क्रेमलेम लगायत नेपाली एनआरएनए टोली र मस्कोस्थित नेपाली दूतावाससँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । नेपाली टोली आगामी जुन १६ मा स्वदेश फर्कने छ।