
प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, वैशाख १० । सरकारले देशभर ‘लकडाउन’ गरेको एक महिना पुग्दा कोरोनाभाइरसका संक्रमित बढ्दै गएका छन् ।
जसले कोरोना संक्रमण समुदायस्तरमा नै फैलिएको त होइन ? भन्ने शंका उब्जिएको छ ।
वैशाख ५ गते उदयपुर जिल्लाको एक मस्जिदमा बस्दै आएका भारतीय, बंगलादेशी र नेपाली गरी १२ जनामा एकैदिन संक्रमण ‘पोजिटिभ’ देखियो ।
एकैपटक १२ जनामा संक्रमण देखिएपश्चात् संक्रमितको सम्पर्कमा आएकाहरुको पनि परीक्षण गर्दा ९ गते थप ११ जनामा संक्रमण देखियो । केही व्यक्तिको अझै परीक्षण हुँदैछ ।
एकै ठाउँमा २३ जना संक्रमित भेटिँदा यसले नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको त होइन ? भन्ने प्रश्न उब्जिएको छ ।
तर, वरिष्ठ जनस्वास्थ्यविद् डा. शरदराज वन्त भने उनीहरु नेपाल बाहिरबाटै आउँदा संक्रमित भएका हुन् वा आएपश्चात् भन्ने निर्क्योल भएपछिमात्र तेस्रो चरणमा प्रवेश गरेको हो कि होइन भन्न सकिने बताउँछन् ।
बाहिरबाट प्रवेश गरेको संक्रमणलाई पहिलो चरण, उनीहरुले अन्य व्यक्तिलाई सारे दोस्रो र ती व्यक्तिबाट अन्य व्यक्तिमा सर्यो भने तेस्रो चरणमा संक्रमण प्रवेश गरेको मानिन्छ । अनि, संक्रमण समुदायस्तरमा नै पुग्छ ।
तर, डा. वन्त संक्रमण तेस्रो चरणमा पुग्दैमा स्थिति भयावह हुने नभइ संक्रमणको गतिमा भरपर्ने बताउँछन् ।
उनले नेपालमा संक्रमण फैलँदैन भनेर अहिले नै भन्न नसकिने बताए ।
उनले ‘मानव शरीरमा कोरोनाभाइरसको संक्रमण छ भने पनि लक्षण देखापर्न नै १४ दिनभन्दा बढी समय लाग्ने हुँदा लक्षण देखापर्नु र संक्रमण सार्ने भनेको फरक हो’–भने ।
लकडाउन लम्ब्याउँदा पनि संक्रमितको संख्या बढ्दै जानुले संक्रमण रोक्न लकडाउनमात्र पर्याप्त विधि होइन भन्ने पुष्टि भएको छ ।
यसका लागि विज्ञहरुले भनेझैं संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ र पर्याप्त परीक्षणलाई बढाउनु नै अहिलेको आवश्यकता हो ।
प्रतिक्रिया दिनुहोस्