२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


कोरोना रोकथामका लागि तराईमा ८ लाख र पहाडमा ५ लाख दिने निर्णय


0
Shares

बुटवल, बैशाख १० । प्रदेश नं ५ सरकारले प्रदेशअन्तर्गतका जिल्लामा कोरोना भाइरस जोखिम व्यवस्थापनका लागि आवश्यक बजेट दिने निर्णय गरेको छ ।

प्रदेश सरकार, मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट तराईका जिल्लामा रु. आठ लाख र पहाडी जिल्लामा रु. पाँच लाख दिने निर्णय गरेको हो ।

उक्त रकम विपद् व्यवस्थापन समितिमा उपलब्ध गराइने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गरेको प्रेसनोटमा जनाइएको छ ।

यस्तै बैठकले २०७७ सालमा प्रदेशले दिने ६ दिनको बिदाबारेसमेत निर्णय गरेको छ । प्रदेश सरकारले एक वर्षमा बकरइद, माघ १ र २ गते  तथा फागुन ३ गते प्रदेश स्थापना दिवसमा बिदा दिइने  निर्णय गरेको छ ।

स्थानीय तहको निर्णयबाट हुने एक दिनको बिदा र निश्चित पर्व मनाउने समुदाय र ठाउँमा  एक दिन बिदाको निर्णय गरिएको छ । निश्चित पर्व मनाउने समुदाय र ठाउँअन्तर्गत रुकुमरोल्पामा भूमेपूजा, थारु समुदायको बडकवा अतवारी र पाल्पामा भगवतीजात्रामा बिदा दिइने छ ।

बैठकले बालरोग विशेषज्ञ डा. किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाउने निर्णयसमेत गरेको प्रेसनोटमा जनाइएको छ । रासस