गृष्मा राजभण्डारी र भरत केसी (इमेज)
काठमाडौं, वैशाख ९ । देश बन्दाबन्दीको अवस्थामा छ । सबै मानिस घरमै कैदीझैं छन् । घरबाहिर निस्के कोरोना संक्रमण हुनसक्ने त्रास छ ।
सरकारले नै घरबाहिर निस्कन निषेध गरेको छ । तर, उपायविहीनहरु आफ्नै थातथलो पुग्न सकिन्छ कि भन्दै दौडादौडमै छन् ।
कोरोनाभाइरसको संक्रमण हुन नदिन देशमा ‘लकडाउन’ छ । भौतिक र सामाजिक दूरी कायमको नियममा कैद भएको छ, मानिस ।
सरकारले बाँधिदिएको यो नियम हुनेखानेहरुले त सर्लक्क मानिदिएका छन् । तर, हुँदाखानुपर्नेहरुको चुलो बल्न छाडेपछि उनीहरु विकल्पमा भौंतारिरहेका छन् ।
देशभरको सडकमा निस्तरा नपाउनेहरु पैतालैले बाटो काट्न विवश छन् । यद्यपि, पछिल्ला दिनमा रोकिएको ठाउँमा बस्न नसक्नेका लागि कहीँ प्रहरीले खाली ट्रकहरुमा चढाएर र त कहीँ स्थानीय निकायहरुले उद्धार गरेर लैजान पनि थालेका छन् ।
काठमाडौं, जडीबुटीमा मंगलबार देखिएको दृश्य पनि त्यसैगरी काठमाडौंमा बस्न नसकेर गाउँ जान लाग्नेहरुको हो ।
तर, यी दृश्य हेर्दा लाग्छ, दसैं र तिहारजस्ता चाडबाडका लागि घर हिँड्नेको लर्को हो ।
बन्दाबन्दीका कारण अलपत्र परेका आफ्ना नागरिकको बिजोग देखेर गाउँ फर्कन विभिन्न जिल्लाका गाउँपालिकाले जडीबुटीसम्म सवारी–साधनको व्यवस्था गरिदिएपछि उनीहरु त्यहाँ यसरी भेला भएका हुन् ।
काठमाडौंका विभिन्न क्षेत्रबाट जडीबुटीसम्म पुग्न उनीहरुले दुई–तीन घन्टाको पैदलयात्रा गरेका थिए ।
छिनमा घाम लाग्ने, छिनमा बदली र पानी पर्ने मौसमको पर्वाह नगरी काँधमा साना लालाबाला बोकेर हिँड्नेहरु पनि उत्तिकै थिए ।
थाकेर लखतरान हुँदै बाटोमा थकाइ मार्नेहरु पनि कम थिएनन् । घर जान पाइने ठूलो आशा बोकेर जडीबुटी पुग्दा अलपत्र परेर भौंतारिने पनि त्यत्तिकै ।
उसो त अघिल्ला दिनमा प्रहरीको अवरोधका कारण कठिनाइ भोगेका उनीहरुलाई यो क्षेत्रमा भने धेरै सहयोग गरेको देखिन्थ्यो ।
ओखलढुंगा, रामेछाप, दोलखाका स्थानीय निकायले गाडी त पठायो । तर, न गाडीधनीलाई यात्रुको जानकारी न त यात्रुलाई नै गाडीको सही ठेगाना ! जता गाडी देख्यो, त्यतै दौडादौडको होड ।
काठमाडौंमा अलपत्र परेका विभिन्न जिल्लाका मानिस पैदलै हिँडेको खबर पाएपछि गाउँपालिकाले चालेको यो कदम सराहनीय छ नै तर योसँगै संक्रमण नफैलियोस् भन्ने होशियारी पनि जरुरी देखिन्छ ।










प्रतिक्रिया दिनुहोस्