काठमाडौं, वैशाख ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा अर्का एकजना युवकमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा मंगलबार प्रवक्ता डा. विकास देवकोटाले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका ३३ वर्षीय युवकमा कोरोनाभाइरस पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।
नेपाली सेनाले उदयपुरबाट ल्याएका स्वाबको परीक्षण भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
हालसम्म १४ जनामा कोरोना पुष्टि भइसकेको उदयपुरमा ‘आरडीटी’ परीक्षण भइरहेको र हालसम्म १०० जनाको ‘पीसीआर’ परीक्षणका लागि नमुना संकलन गरिएको पनि डा. देवकोटाले जानकारी दिए ।
यस्तै, वीरगन्जमा २२१ जनामा पनि पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको उनले बताए ।
सात प्रदेशमा हालसम्म २७ हजार ९५६ जनामा आरडीटी परीक्षण गरिएको भन्दै प्रवक्ता देवकोटाले पीसीआरबाट आठ हजार ७६४ गरी हालसम्म ३६ हजार ७१९ जनाको परीक्षण गरिएको जानकारी दिए ।
कोरोना संक्रमितमध्येका चारजना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बाँकीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
‘भ्रमको पछि नलाग्नोस्’
पत्रकार सम्मेलनमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेदिक उपचार प्रणालीले कोरोनाभाइरस निको बनाउन सकिन्छ भनेर हल्ला फैलिएको भन्दै जडीबुटीले कोरोनाभाइरस निको हुने भ्रमको पछि नलाग्न आग्रह गरे ।
यस्तै, हाल देशभर सात हजार ६७ जना ‘क्वारेन्टाइन’मा रहेका छन् भने १०७ जना ‘आइसोलेसन’कक्षमा रहेको मन्त्रालयले जनाएको छ ।
भिडियो हेर्नोस्








प्रतिक्रिया दिनुहोस्