
काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिकाका १५ वर्षीय किशोर विनोद शाहीको परिवारले शव बुझेको छ ।
परिवारले १३ जनाविरुद्ध दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि परिवारले शव बुझेको हो । जेठ १७ गते रातिदेखि बेपत्ता शाही ६ दिनअघि घर नजिकैको स्थानीय जंगलमा मृत अवस्थामा फेला परेका थिए ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो ।
स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।
पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्