इम्बोस्ड नम्बर प्लेट जडान गर्नैपर्ने सरकारको निर्णयविरुद्ध युवासंघको प्रदर्शन « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


इम्बोस्ड नम्बर प्लेट जडान गर्नैपर्ने सरकारको निर्णयविरुद्ध युवासंघको प्रदर्शन


117
Shares

काठमाडौं । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यवहारिक रवैयाको संज्ञा दिँदै राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको थियो ।

राष्ट्रिय युवा संघ नेपालले मंगलबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागमा सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्य र सरकारको अव्यवहारिक रवैयाविरुद्ध विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडीहरू रोकेपछि प्रहरीले लाठिचार्ज गरेको थियो । संघका अध्यक्ष किरण पौडेलले यदी राज्यको सुरक्षाको लागि इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै बेहोर्नुपर्ने बताउनुभएको थियो ।

उहाँले इम्बोस्ड नम्बर प्लेटको नाममा सरकारले माफियाहरुलाई पोस्ने काम गरेको बताउनुभएको थियो । इम्बोस्ड नम्बर प्लेट जडानमा अरबौँको स्वार्थ लुकेको भन्दै अध्यक्ष पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनका लागि लिखित उजुरी दिइने समेत बताउनुभएको थियो ।