
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकहरूले गर्ने अवरोध र भीडभाडमा गोली चलाउन सरकारले आदेश नै नदिएको दाबी गर्नुभएको छ ।
बर्दिया जिल्लामा प्रहरीले चलाएको गोलीबाट एक जनाको निधन भएकोप्रति मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री खाँणले उक्त दाबी गर्नुभएको हो । उक्त घटनामा पनि गोली चलाउने आदेश नदिइएकाे उहाँले बताउनुभयाे ।
नागरिकहरूको आन्दोलनलाई सर्वपक्षिय या सर्वदलिय छलफल गरेर समस्या सम्बोधन गर्न लाग्ने सरकारको नीति रहेको उहाँले बताउनुभयो । घटना छानविन गर्न सरकारले छानविन समिति बनाएको उहाँले बताउनुभयो ।
‘त्यहाँको प्रमुख जिल्ला अधिकारीले गोली चलाउन नदिएको उहाँको धारणा छ, नागरिकहरूको यस्तो अवरोधहरू, भीडहरूमा गोली चलाउने अहिले आदेश छदैँ छैन,’ उहाँले भन्नुभयो, ‘नेपाल सरकार र गृहमन्त्रालयको निर्देशन सम्झाइबुझाइ गर्ने र सर्वपक्षिय या सर्वदलिय बैठक गरेर समस्यालाई सम्बोधन गर्ने हाे ।’
यसैगरी, गृहमन्त्री खाँणले यौन हिंसालाई दुरुत्साहन गर्न यस सम्बन्धी कानूनहरूलाई संशोधन गर्न सरकार सकारात्मक रहेको बताउनुभयो ।
मन्त्री खाँणले यौन हिंसालाई दुरुत्साहन गर्न तथा बलात्कारमा प्रताडित भएका नारीहरूलाई सम्मानजनक जीवन जिउनका लागि आवश्यक पर्ने कानूनी प्रावधानहरूलाई संशोधन गर्न सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले बलात्कारका घटनामा संलग्न पीडकलाई हदै सम्मको सजायको माग गरिने पनि उल्लेख गर्नुभयो ।
मन्त्री खाँणले बाँकेकाे राप्तीसोनारी निवासी १६ वर्षकी युवतीमाथि ७ जना युवाहरूले सामुहिक बलात्कार गरेको घटनाको सम्बन्धमा आरोपीहरूलाई पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अगाडी बढाइएको जानकारी दिनुभयो ।
मन्त्री खाँणले यौन हिंसाको सम्बन्धमा विद्यालयको पाठ्यपुस्तकमै राखेर हिंसाबाट बच्न र हिंसा भएमा कानूनी कारबाही हुने बारेमा जानकारी दिइनुपर्ने बताउनुभयो ।
उहाँले छानविन समितिले दिएको रिपोर्ट अनुसार गल्ती गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्