२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


सामाजिक सुरक्षा भत्ता घरमै


0
Shares

बैतडी, बैशाख ८ । सुर्नया गाउँपालिकाले घरमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण शुरुआत गरेको छ ।

गाउँपालिकाको वडा नं ३ को कार्यालयले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । कोभिड–१९ को जोखिम हुन नदिन  ‘लकडाउन’ जारी रहेपछि घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको वडा नं ३ का वडाध्यक्ष दिलाराम भट्टले जानकारी दिए । गाउँपालिकाले दोस्रो चौमासिकका सामाजिक सुरक्षाभत्ता निकासा गरेपछि प्रत्येक टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । पहिलो दिन बिजुल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा वडाध्यक्षसँगै गाउँपालिका उपाध्यक्ष लीला विष्ट, वडा सचिव दानसिंह विष्ट, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

यसपछि  बाँस र गोयलीमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको छ भने वैशाख ९ गते डुङरीमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडा अध्यक्ष भट्टले जानकारी दिए ।

वैशाख १० गते तडीगाउँ र साविकको भौनेलीको वडा नं २ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताइएको छ । सुर्नया गाउँपालिकाले दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरिसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले जानकारी दिए । 

बैतडीको दोगडाकेदार गाउँपालिकाले लकडाउनको उल्लङ्घन गरेर कुखुरा वितरण गरेको प्रतिनेपाली काँग्रेस दोगडाकेदार गाउँपालिका समितिले गम्भीर ध्यानाकर्षण भएको छ ।

काँग्रेसका सो गाउँपालिका समितिका सभापति नन्दराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा गाउँपालिका आफैँ गरेको निर्णय उल्लङ्घन गर्दै, लकडाउनको अवज्ञा गर्दै कुखुरा वितरण गरेको उल्लेख गरिएको छ ।

लकडाउनका कारण समस्यामा परेका नागरिकलाई राहत वितरण गर्नु सट्टा कुखुरा वितरण गरेर लकडाउनको उल्लङ्घन गरेको आरोप लगाएको छ । यस्तै गाउँपालिकाले कार्यकर्तामुखी हिसाबले राहत वितरण गरेको र राहतमा समेत भेदभाव गरेको काँग्रेसले जनाएको छ ।

लकडाउनको पूर्ण पालना गर्नका लागि सक्रिय रहनुपर्ने निकायले नै लकडाउनको उल्लङ्घन गर्नु गलत भएको काँग्रेसले ठहर गरेको छ ।

दोगडाकेदार गाउँपालिकाले विभेदकारी र निषेधकारी कामको शुरुआत गरेकाले काँग्रेस यो कार्यप्रति आपत्ति प्रकट गर्दछ विज्ञप्तिमा भनिएको छ । अबका दिनमा लकडाउनको पूर्ण पालना गर्न र गराउन र समस्यामा परेका नागरिकलाई राहत वितरण गर्न काँग्रेसले विज्ञप्तिमार्फत आग्रहसमेत गरेको छ ।

गाउँपालिकाले आइतबार विभिन्न वडामा ७०० कुखुरा वितरण गरेको थियो । रासस