१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


रुपन्देहीको रोहिणी बस दुर्घटना अपडेट : मृतक ७ जनाको सनाखत


663
Shares

काठमाडौं । रुपन्देहीको भैरहवा नजिकै रोहिणी खोलामा बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ७ जनाको परिचय खुलेको छ ।

बुटवल–६ का ४० वर्षीय अरविन्द शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का अन्दाजी ५६ वर्षीय विष्णु पौडेल, रौतहटको चन्द्रनिगाहपुर बस्ने अन्दाजी २० वर्षीय दिनेश दास, बुटवल–११ कालिकानगरका अन्दाजी ४१ वर्षीय कृष्ण प्रसाद बस्याल, ओमसतिया गाँउपालिका–४ का अन्दाजी ६५ वर्षीय राजेन्द्र पाण्डे, रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षीया तुल्सी बस्याल र बुटवल–६ का ५० वर्षीय नागेन्द्र शर्माको सनाखत भएको छ ।

अझै २ जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभएको छ ।

जनकपुरबाट भैरहवातर्फ आउदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान साढे ४ बजे अनियन्त्रित भएर रोहिणी पुलबाट तल खसेको थियो । ३३ जना यात्रु रहेको बस दुर्घटनामा ८ जना पुरुष र एक महिलाको मृत्यु भएको र २४ जना यात्रु घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सहित घाइते भएका सबैलाई उपचारको लागी भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पताल पठाइएको थियो । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।