२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


‘बिप्लव’ समूहको बन्दको आंशिक प्रभाव, गैंडाकोटमा ट्रकमा आगजनी


0
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोध गर्दै चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो ।

बन्दका कारण देशैभरको जनजीवन सामान्य प्रभावित भएको छ ।

निजी शैक्षिक संस्था बन्द भएका छन् भने उद्योग, कलकारखाना आंशिक रुपमा बन्द भएका छन् । लामो दुरीका सवारी साधन कम मात्र चलेका छन् ।

काठमाडौं उपत्यकामा भने बन्दको न्यून प्रभाव परेको छ । निजी तथा सार्वजनिक सवारी साधन संचालनमा आएका छन् ।

मुख्य सडकका व्यवसाय बन्द भए पनि भित्री शहरका अधिकांश पसल तथा व्यवसाय खुला नै छन् ।

यसैबीच काठमाडौंको नैकाप, ललितपुरको ग्वार्को र भक्तपुरको सूर्यविनायक तथा लोकन्थलीमा भेटिएका शंकास्पद वस्तुलाई नेपाली सेनाले निस्कृय पारेको छ ।

बन्द आह्वान गरेको नेपाल कम्युनिस्ट पार्टीले नै शंकास्पद वस्तु राखेको आशंकामा सेनाले निष्कृय पारेको हो ।

यसैबीच पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमाथि बिहान आगजनी गरिएको छ ।

कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकी राखेको ना. २ ख ८४८७ र ना २ ख २५४८ नं. का ट्रकमाथि आगजनी भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।