Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


चेपाङ समुदायमा भोकमरीः मकैंको खोले खाएर छाक टर्दैछ (भिडियो)


0
Shares

-नवराज छत्कुली/ईमेज

धादिङ । धादिङको महाभारत पहाड क्षेत्रमा रहेका चेपाङ गाउँमा भोकमरीको सिजन सुरु भएको छ ।

आफ्नो पाखो बारीमा भएको उब्जनी पनि सकिएको र काम गर्न पनि नपाएपछि गजुरी गाउँपालिकाको विकट क्षेत्रमा रहेका चेपाङ समुदायमा भोकमरी सुरु भएको हो ।

स्याउलाले बारेको झुप्रो । यस्तै स–साना झुप्रो भित्र ओत लागिरहेका १२ जनासम्मको परिवार । घरभित्र अन्नपातको नाममा एक बोरा पिठो बाहेक अरु केही देखिन्न ।

अलि हुने खाने घरमा २०/२५ झुत्ता मकै झुण्डिएको देखिन्छ ।  यस्तो दृश्य धादिङको गजुरी गाउँपालिका–३ चिलाउने खर्कका चेपाङ समुदायको हो ।

आफ्नो पाखो बारीमा फलेका अन्नहरु मध्ये अहिले मकै मात्र वाँकी छ, त्यही मकैको खोले बनाएर यहाँका चेपाङ समुदायले विहान बेलुकाको छाक टारिरहेका छन् ।

यस्तो समस्या चिलाउने खर्कका चेपाङहरुको प्रतिनिधि समस्या हो । महाभारत पहाड क्षेत्रमा बसोबास गर्ने अधिकांस चेपाङ समुदायका घरहरुमा यतिबेला खाद्यान्न संकट देखिएको छ ।

चेपाङहरुको धेरैथोरै पाखोबारी सवैको छ तर भदौताका भित्रिएको मकै र दशैपछि भित्राएको कोदो पनि सकिएको छ ।

घरमा भएको अन्नपात सकिएपछि ज्यालामजदुरी गरेर किनेर खान थालेको भएपनि लकडाउनले चेपाङहरुलाइ समस्या पारेको छ ।

पाखोबारीमा भएको उब्जनीले ६ महिनापनि खान पुग्दैन । वाँकी छ महिना ज्याला मजदजुरी गरी किनेर खाने चेपाङहरुमा लकडाउनका कारण बजार क्षेत्रमा काम गर्न जान नपाउँदा भोकै पो मरिने हो कि भन्ने चिन्ता थपिएको छ ।

गजुरी गाउँपालिकाले पनि यी र यस्तै समस्यामा परेका परिवारहरुको लागि भनेर खाद्यान्न वितरण गर्नको लागि फुड बैङ्क संचालन गरेको छ ।

लकडाउनकै कारण गाउँपालिका भित्र रहेका कसैलाइ पनि भोकै मर्न नदिने गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए ।

फागुन महिनादेखि असार सम्म चेपाङ गाउँमा अनिकाल लाग्छ, यो वीचमा काम गर्नसक्नेहरु दैनिक ज्यालामजदुरी गरेर जसोतसो आफ्नो प्राण धानिरहेका हुन्छन् तर यस वर्ष खाद्यान्न संकट सुरु हुनथालेपछि देशभर भएको लकडाउनले सवैभन्दा बढी मार यी विपन्न चेपाङहरुलाइ परेको छ । 

Skip This