आज नेवार समुदाय सिथि नखः पर्व मनाउँदै « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


आज नेवार समुदाय सिथि नखः पर्व मनाउँदै


364
Shares

काठमाडौं । आज नेवार समुदायकोे सिथि नखः पर्व । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विशेषगरि कुमार देवताको पूजा गरिन्छ ।

ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवता लगायत नगर भित्रका सबै देवीदेवताको पूजा गर्ने परम्परा छ ।

सिथि नखःमा भक्तपुरको गछेंस्थित नवदुर्गा मन्दिरमा भक्तजनको ठूलो मेला लाग्ने गर्छ ।

यस दिन देवी देवतालाई मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको बारा, चतामरी, मालपुवा चढाउने र आफूले पनि भोजन गर्ने चलन छ ।

सिथि नखःका दिन नेवार समुदायले पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्ने प्रचलन पनि रहेको छ । हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई बर्सातको पानीले फुटाउने भएकाले पनि सिथि नखःका दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो ।

सिथि नखः पर्वले नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रुपमा लिइन्छ ।