काठमाडौं । नेपाल छुवाछुतमुक्त घोषणा भएको आज शनिबार १६ वर्ष पूरा भएको छ।
शनिबार जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, देशभर जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिन्छ ।
२०५८ साल साउन ३२ गते छुवाछुत अन्त्य गर्ने प्रतिबद्धतासहित राष्ट्रिय दलित आयोगको स्थापना भएको थियो । नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ । नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् । तर, समाजमा रहेको सोच र चेतनास्तरका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुुवाछुत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन।
सन् २०२० मा राष्ट्र संघले गरेको सर्वेक्षण अनुसार ९७ प्रतिशत दलित जातीय विभेद र छुवाछुतबाट पीडित रहेका छन् । तर तीमध्ये धेरैले उजुरी गर्ने आँट गरेको पाइँदैन । पछिल्लो ९ वर्षमा मात्रै छुवाछुतका २ सय २५ वटा घटना भएका छन् ।
दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुुवाछुत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील हुन सबैलाई आह्वान गर्नुभएको छ । उहाँले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि क्रियाशील रहन तीनै तहका सरकार र सरोकार निकायलाई आग्रह समेत गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानुनी रुपमा गम्भीर अपराधजन्य काम भएको बताउनुभएको छ । उहाँले सभ्य र आधुनिक समाज निर्माण गर्ने सबैको जिम्मेवारी र दायित्व भएको पनि बताउनुभएको छ । प्रधानमन्त्री देउवाले कसैले कसैलाई पनि कुनै पनि किसिमको विभेद नगर्न र विभेदको आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्न अपिल समेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्