२३ श्रावण २०८२, शुक्रबार | Sat Aug 9 2025


कोरोना जितेर ‘डिस्चार्ज’ भएकी १९ वर्षीया युवती के भन्छिन् ? (भिडियो)


0
Shares

काठमाडौं, वैशाख ६ । नेपालकी दोस्रो कोरोना संक्रमित युवती उपचारपछि निको भएर घर फर्किएकी छन् ।

गत चैत १० गते कोरोना संक्रमण पुष्टि भएकी काठमाडौंकी १९ वर्षीया युवती शनिबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ‘डिस्चार्ज’ भएकी हुन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ‘आइसोलेसन वार्ड’मा उपचाररत् ती युवतीको सबै ‘रिपोर्ट नेगेटिभ’ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । ती युवती चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन् ।

खुसी

डिस्चार्ज भएपछि अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उनले स्वस्थ बनेर घर फर्कन पाएकोमा खुसी व्यक्त गरिन् ।

साथै, आफूलाई सामाजिक सञ्जाल तथा समाचारमा ‘कलंक’को रुपमा प्रस्तुत गरिएकोमा दुःख व्यक्त गरिन् ।

उनले जनस्तर र मिडियाले ‘सुपर स्प्रेडर’जस्ता शब्द प्रयोग गरेर कलंकका रुपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाइन् ।

कोरोनाभाइरस संक्रमितलाई हेयको दृष्टिकोणले हेर्दा कोही संक्रमित छन् भने पनि उनीहरुलाई अगाडि आउन गाह्रो हुने उनको भनाइ थियो ।

उनले संक्रमण फैलिन नदिन ‘सेल्फ आइसोलेसन’लाई कडाइका साथ पालना गर्न र संक्रमित भइहाले पनि धैर्यताका साथ उपचार गराउन पनि आग्रह गरिन् ।

उपचार गराइरहेकाहरुलाई आत्मबल दह्रो बनाउन उनको सुझाव थियो ।

उनले उपचारको क्रममा अस्पतालमा राम्रो सेवा पाएको बताउँदै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिइन् ।

भिडियो हेर्नोस्