२० वर्षदेखि अनुत्तरित दरबार हत्याकाण्डको जिज्ञासा, जीर्ण बन्दै संग्रहालयका संरचना « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Wed Feb 1 2023


२० वर्षदेखि अनुत्तरित दरबार हत्याकाण्डको जिज्ञासा, जीर्ण बन्दै संग्रहालयका संरचना


793
Shares

काठमाडौं । राजतन्त्रको अन्त्यसँगै गणतान्त्रिक सरकारले राजसंस्थाको नासोका रूपमा रहेको नारायणहिटी दरबारलाई संग्रहालयमा रुपान्तरण गर्‍याे ।

पूर्वराजा, राजपरिवारका सदस्यको कोठमाचोटादेखि दैनिक झल्काउने सबै सामग्री संग्रहालयमा सुरक्षित राखिएको छ । तर, राजा वीरेन्द्रको परिवारको हत्याकाण्ड भएको ठाउँका सम्पूर्ण भौतिक संरचना भत्काइँदा इतिहासमाथि गम्भीर धोका मात्र भएको छैन, २० वर्षअघिको त्यो दुःखद् घटनाबारे जिज्ञासा राख्नेहरू स्वयं अनुत्तरित हुने गरेका छन् ।

राजपरिवार वंशनाशको लीला त्रिभुवन सदनमा भएको थियो । राजा त्रिभुवनको निजी दरबार रहेको यस सदनमा दुई दशकअघि जेठ १९ भएको हत्याकाण्ड नेपाली इतिहासमा कालो दिनका रूपमा अंकित छ । रात्री भोज सकेर हलमा भेला भएका राजपरिवारका सदस्यमाथि छानी–छानी गोली प्रहार भएको थियो ।

राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार धीरेन्द्र, निराजन, अधिराजकुमारी श्रुती लगायत राजपरिवारका सदस्यहरुमाथि गोली प्रहार भएको त्रिभुवन सदन दरबार हत्याकाण्डपछि पूर्वराजा ज्ञानेन्द्र शाहले २०६८ सालमा भत्काउन लगाएपछि नयाँ स्वरूपमा बन्ने क्रममा छ ।

१०८ बटुक राखी पुजा पाठ गरी भत्काइएको रानी ऐश्वर्य ढलेको भर्‍याङ भने इतिहासको जिउँदो साक्षीको रूपमा अझै यथावत छ । त्रिभुवन सदनको आडमा रहको स्थानमा निराजनमाथि गोली दागिएको थियो । जहाँ गोलीका दाग दुइ दशक बितिसक्दा जस्ताको तस्तै छ ।

त्रिभुवन सदनमा आडमा रहेको भवनमा मुमा बहामहारानीलगायत राजपरिवारका केही सदस्य मदिरा सेवन नगर्ने भएकाले हत्याकाण्डमा बचेको बताइन्छ । अनि सँगै रहेको सानो पुल जहाँ पूर्वयुवराज दिपेन्द्र ढलेको पुलको अवस्था पनि उस्तै छ ।

दरबार हत्याकाण्ड भएको जिउँदो इतिहास बोकेको यो स्थल परिवर्तन गरिए कयौं संरचनाले राजसंस्थाको विगत सम्झाउँछन् । संग्रहालयमा परिणत भइसकेको नारायणहिटी अवलोकन गर्न आउने अधिकांशको खोजी त्यही दृश्यमा अडिन्छ ।

जेठ १९ मा दरबार संग्रहालय अवलोकन गर्न आउनेहरूको मन, मस्तिष्क नै दरबार हत्याकाण्ड र राजपरिवारको स्मृतिमा घुमेको पाइयो ।

सार्क सम्मेलनका बेला विदेशी आगन्तुकहरू रात्री भोज अघि भेला हुने सार्क पाटी, राजहाँस पालिने ऐतिहासिक पोखरी, राजपरिवारका बालबालिका खेल्ने घुम्ने घर, विदेशबाट ल्याइएका क्याक्टसका विरुवाहरू राख्ने क्याक्टस हाउसको अवस्था हेर्नलायक छैन ।

राजाहरूको निजी कार्यालयको ढोका भने अहिलेसम्म खोलिएको छैन, जहाँ अन्तिमपटक पूर्वराजा ज्ञानेन्द्रले प्रयोग गर्नुभएको थियो । हत्याकाण्ड भएको त्रिभुवन सदन बाहेक दरबारभित्रका अनगिन्ती ऐतिहासिक स्थल जीर्ण अवस्थामा छन् ।

७ सय ५४ रोपनी क्षेत्रफलका फैलिएको दरबारका बहुमुल्य बस्तुमध्ये केही सम्हालिएको त केही अलपत्र र लथालिंग अवस्थामा छन् । यहाँ रहेका हरेक वस्तु र स्थलले राजपरिवारको झल्को दिए पनि समुचित संरक्षण र सम्भारको अभावमा इतिहास मेटिने भय उत्तिकै छ ।