Logo १९ कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025


नेपालगञ्जमा गोली चल्याे, ९ जना प्रहरी घाइते


39.6k
Shares

काठमाडाैं । बाँकेकाे नेपालगञ्जस्थित धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने क्रममा आज (बिहिबार) राजावादी समूह र प्रहरीबीच झपड हुँदा ९ जना प्रहरी जवान घाइते भएका छन् ।

सशस्त्र प्रहरी सहायक निरीक्षक पृथ्वीबहादुर शाही, प्रहरी सहायक निरीक्षक गञ्जबहादुर घर्तीमगर, हवल्दारद्वय लक्ष्मी चौधरी र जसीप्रसाद जोशी र प्रहरी सहायक हवल्दार रेशम राना घाइते भएका हुन् । त्यस्तै, जवानहरू मञ्जु दर्जी, प्रकाश थापा, रामकुमार चौधरी र टिकाराम रिजाल पनि झपडमा घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

वीरेन्द्रको शालिक राख्ने क्रममा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव सिर्जना भएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले ईमेज खबरलाई जानकारी दिनुभएकाे हाे। स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड हवाई फायर समेत गरेको उहाँले बताउनुभएकाे छ। राजावादी समूहले तनावकाबीच स्थापना गरेको शालिक केहीबेरमै प्रहरीले हटाएको छ । प्रहरीले शालिक हटाएपछि आक्रोशित बनेको समूहले न्युरोडस्थित सेतु बिकको शालिकमा पनि तोडफोड गरेको छ । उक्त शालिकको निधारमा क्षति पुगेको प्रहरीले जनाएकाे छ ।

शालिक तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले केहीलाई भने पक्राउ गरेको छ ।