१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


वाम दलबीच भित्रभित्रै गठबन्धन प्रयास


6.929k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन्।प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका छन्। खासगरी एमालेले यसको अगुवाइ थालेको छ। तर माओवादी केन्द्र र एमालेबाट विभाजन भएर बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले एमालेलाई विश्वास गर्न सकिरहेका छैनन्।

विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भए। अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका कमजोरी औंल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस गरेका यी तीन दलबीच विश्वासको अभाव भने खट्किएको छ। ‘भित्रभित्रै वाम गठबन्धनको कुरा चलेको मात्र होइन, गम्भीर छलफल भएको छ तर नेताहरूबीच विश्वासको अभाव देखिएको छ’, एमालेका एक पदाधिकारीले भने।

पछिल्लो समय प्रमुख विपक्षी एमालेले पाँचदलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको छ। संसदीय निर्वाचनअघि नै वाम गठबन्धनको प्रस्ताव अघि बढेमा एमाले सकारात्मक हुने सन्देश माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसम्म पुगेको छ। ‘वाम गठबन्धन प्रस्ताव प्रत्यक्ष वा अप्रत्यक्ष दुवै रुपमा आएका छन् तर ती विश्वासयोग्य छैनन्’, नेकपा एसका अध्यक्ष नेपाल निकट स्रोतले भन्यो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।