हेटौंडा, वैशाख ५ । स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका दुईजनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ ।
जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका बोलेरोचालक भारत, बैरातपुर बस्ने ३१ वर्षीय विजय चौधरी र नहेटी बस्ने ३८ वर्षीय शंकर सरकारलाई कारागार चलान गरिएको हो ।
राजश्व अनुसन्धान कार्यालय पथलैयाले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत मकवानपुरले उनीहरुलाई जनही रु १७ लाख धरौटी मागेको थियो ।
गत चैत ५ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलीले हेटौंडा–१५, रातोमाटेबाट वीरगन्जतर्फ जाँदै गरेको डब्लु बी २३ इ २३३३ नम्बरको भारतीय बोलेरोसहित उक्त रकम बरामद गर्नाका साथै उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले कानुनविपरीत प्रतिबन्धित भारु बोकेको र रकमको स्रोत पनि नखुलेकाले आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थियो । रासस








प्रतिक्रिया दिनुहोस्