
सिबी अधिकारी (रासस)
काठमाडौं, साउन २८ । अहिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ ।
मनसुन चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ ।
मौसम पूर्वानुमान महाशाखाको आँकडाअनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी (हालै भक्तपुरमा) १२५ मिलिमिटर वर्षा भएको छ ।
यो वर्ष मनसुन सक्रीय भएको लामो अवधिसम्म पनि प्रभावकारी वर्षा नभएपनि साउन १५ देखि वर्षा राम्ररी भइरहेको छ ।
मनसुन अवधिमा असार १५ देखि साउन १५ सम्म सबैभन्दा बढी वर्षा हुने गर्दछ ।
सामान्यतः नेपालमा जेठको अन्तिम सातादेखि मनसुन सुरु भइ असोजको पहिलो सातासम्मको अवधि हुन्छ ।
अहिलेसम्म मध्य र पश्चिममा वर्षा राम्रै भइरहे पनि पूर्वी भेगमा तुलनात्मकरुपमा वर्षा हुन सकेको छैन ।
दुई दिनदेखि ती क्षेत्रमा पनि वर्षा राम्रो भइरहेकाले यो वर्ष पनि सरदर वर्षाको अनुमान गरिएको मौसमविद् वरुण पौडेलले बताए ।
‘मनसुन चार महिना अवधिको विवरण भदौमामात्रै आउँछ । अहिलेसम्मको वर्षाको अवस्थालाई हेर्दा सरदर वर्षा हो । धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ । दुई दिनदेखि पूर्वमा पनि मनसुन पूर्णसक्रिय भएकाले यो वर्ष पनि सरदर वर्षा हुने देखिन्छ’–उनले भने ।
मौसमविद् पौडेलकाअनुसार अघिल्लो वर्ष करिब १५० मिलिमिटर वर्षा भएको थियो ।
विगतको आँकडा हेर्दा सन् १९९३ जुलाई महिनामा मकवानपुरको टिस्टुङ–पालुङमा २४ घन्टाको अवधिमा ५४० मिलिमिटर वर्षा भएको थियो । जुन अहिलेसम्मकै अतिभारी वर्षा हो ।
जेठ १५ देखि असोज १५ गतेसम्म बंगालको खाडी हुँदै नेपाल प्रवेश गर्ने जलवाष्पयुक्त हावा नै मनसुन हो ।
नेपालको पूर्वी भेग हुँदै प्रवेश गर्ने चार महिना (१०५) दिन अवधिमा चल्ने उक्त हावाले अधिक वर्षा गराउँछ । जलवाष्पयुक्त हावाले नै मनसुन अवधिभर वर्षात् गराउने मौसमविद्को भनाइ छ ।
नेपालमा वर्षभरि मनसुनका कारण ८० प्रतिशत र पूर्वमनसुन र पश्चिमी वायुको प्रभावले २० प्रतिशत वर्षा हुने गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार साधारणतया जेठ १५ देखि असोज १५ गतेको चार महिनासम्मको समयलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुन्छ ।
गत वर्षको मनसुनी वर्षा करिब ७६ प्रतिशत रहेको थियो । जुन सरदरभन्दा कम हो ।
काठमाडौंसहितका स्थानमा भारी वर्षा
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बितेको २४ घन्टामा काठमाडौंमा भारी (६४ मिलिमिटर) वर्षा भएको छ ।
मौसमी मापदन्डअनुरुप ५० भन्दामाथि १०० मिलिमिटरसम्म भारी वर्षा मानिन्छ । १०० भन्दा बढी अतिभारी वर्षामा गनिन्छ ।
१५ मिलिमिटरसम्म हल्का र १५ देखि ४९ मिलमिटरलाई मध्यम वर्षाकारुपमा लिइन्छ ।
काठमाडौंमा तीन दिनअघि ५४ मिलिमिटर वर्षा भएको थियो ।
सोमबार देशका पूर्वी भेगमा भारी वर्षा भएको छ । पूर्वका ओखलढुंगामा सबैभन्दा बढी ८७ मिलिमिटर वर्षा भएको छ ।
धनकुटामा ५३ मिलिमिटर वर्षा भएको छ । दाङ र नेपालगन्जमा समान ४९ मिलिमिटर, धनगढीमा ३४, डडेलधुरामा २३ र ताप्लेजुङमा २६ मिलिमिटर वर्षा भएको छ ।
मध्य र पश्चिममा भारी वर्षा
महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर देशका मध्य र पश्चिमका केही स्थानमा भारी वर्षा हुने जनाएको छ ।
अबको तीन दिनसम्म देशभर हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो ।
सोमबार र मंगबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्णबदली रही देशका धेरै जसो स्थानमा मध्यमदेखि भारी वर्षा हुने जनाइएको छ ।
सोमबार दिउँसो पूर्व र मध्यका थोरै स्थानमा र पश्चिमका केही स्थानमा भारी वर्षा भएको छ भने राति पश्चिमका थोरै स्थान र मध्य तथा पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्णबदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ भने पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
अहिलेको वर्षा अन्य कुनै मौसमी प्रणालीको प्रभाव नभइ मनसुन न्यूनचापीय रेखाको प्रभावले नै बदली र वर्षा गराएको तथा बुधबारदेखि मौसममा क्रमिक सुधार आउने मौसमविद् पौडेलको भनाइ छ ।
मनसुन न्यूनचापीय रेखा नेपालनजिक (तराईको सिमाना क्षेत्र) रहेकाले विगत केही दिनयता निरन्तर वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
उक्त प्रणालीको प्रभावले नेपालमा १० दिनयता दिनहुँजसो देशका धेरै भू–भागमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भएको छ ।
प्रतिक्रिया दिनुहोस्