Logo २ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026


बजेटमा माग सम्बोधन भएको भन्दै गैरआवासीय नेपाली संघद्धारा स्वागत


260
Shares

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।

बजेटमा संघले उठाउँदै आएका थुप्रै माग सम्बोधन गरिएको तथा गैरआवासीय नेपालीलक्षित विभिन्न कार्यक्रम घोषणा गरिएकोमा संघले खुुशी व्यक्त गरेको हो ।

सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोड बाट घटाएर २ करोड कायम गर्नुका साथै १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने घोषणा गरेको छ ।

यसै गरी धितोपत्रको दोश्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाउने र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्काशनमा दश प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था पनि गरिएको छ ।

उत्पादनमूलक एवं निर्यातजन्य उद्योगमा वैदेशिक लगानी आकर्षण गर्न एवं गैरआवासीय नेपालीको लगानी भित्र्याउन विदेशी लगानीसम्बन्धी कानून तथा प्रक्रियामा सुधार गर्ने, उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने साथै उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लीजमा दिन सकिने व्यवस्था मिलाउने घोषणा गरिएको छ ।

यस्तै आन्तरिक ऋण परिचालन गर्दा वैदेशिक रोजगारीमा गएका नागरिक र गैरआवासीय नेपालीलाई लक्षित गरी ऋणपत्र जारी गरिने पनि बजेटमा उल्लेख छ । आगामी आर्थिक वर्षको बजेटमा वैदेशिक रोजगार सम्वद्ध सेवाहरुलाई अनलाइन प्रणाली मार्फत प्रदान गर्न व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुका लागि संचित लगानी कोष संचालन गर्ने लगायतका व्यवस्थाहरुको घोषणासँगै संघ उत्साहित भएको जनाएको छ ।