
काठमाडौं, बैशाख ४ । दैनिक उपभोग्य वस्तुमा बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको छ ।
लकडाउनका अवधिमा खाद्य वस्तुमा मूल्य वृद्धि गरी बिक्री गरेकाले महांँकालस्थित डेली ग्रोसरी प्रालिलाई रु दुई लाख जरिवाना गराइएको विभागले जनाएको छ ।
अधिकतम खुद्रा बिक्री मूल्य समावेश गरिएको सामान दोब्बर मूल्यमा बिक्री गरेको भेटेपछि कारवाहीस्वरुप जरिवाना गराइएको विभागका अनुगमन निरीक्षक दीपक पोख्रेलले जानकारी दिए ।
उनका अनुसार आजै इमाडोलस्थित दीपशिखा स्टोर्समा खरीद बिल नभएकाले रु. पचास हजार जरिवाना गराइएको छ ।
अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरिएको पोख्रेलले जानकारी दिए । विभागले बुधबार बढी मूल्यमा किराना सामग्री बिक्री गरेकाले सीतापाइलास्थित बुद्धबजार प्रालिलाई रु. दुई लाख जरिवाना तिराएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्