
काठमाडौं, साउन २८ । चिकित्सहरुले मुलुकी अपराध ऐन अहिलेकै अवस्थामा लागू गर्ने हो भने भदौ १ गते आफूहरुले काम नगर्ने बताएका छन् ।
नेपाल चिकित्सक संघले सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा उनीहरुले मुलुकी ऐन संशोधन गरी लागू गर्न लागिएको मुलुकी अपराध संहितामा चिकित्सा पेसासम्बन्धी व्यवस्था संशोधन नगर्ने हो भने काम गर्न नसक्ने बताएका हुन् ।
भदौ १ गतेदेखि देशभरका स्वास्थ्यमकर्मीहरुले आफ्नो एप्रोन र काउन्सिल दर्ता प्रमाणपत्र मेडिकल काउन्सिलमा बुझाउने चेतावनी पनि चिकित्सकहरुले दिएका छन् ।
सो अवसरमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले ‘चिकित्सा लापरबाही भनेको के हो ?’ भन्ने स्पस्ट नपारी ऐन लागू गर्ने हो भने जटिल स्वास्थ्य अवस्था भएका बिरामीको उपचार गर्नै नसकिने बताए ।
यस्तै, चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले चिकित्सकको उद्देश्य नै बिरामीलाई बचाउनु हो भन्दै ‘उपचारकाक्रममा कसैको मृत्यु भए फौजदारी अभियोगअन्तर्गत् जघन्य अपराधमा सजाय हुने व्यवस्थाले नेपाल कस्तो कानुनी राज्य बन्दैछ ? भन्ने प्रश्न उठेको छ’–भने ।
सरकारले जंगबहादुर राणाको शासन अवधिमा बनेको मुलुकी ऐन संशोधन गरी आगामी भदौ १ गतेदेखि लागू गर्ने तयारी गरेको छ ।
उक्त संहितामा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।
यस्तै, हेलचेक्र्याइँबाट बिरामीको मृत्यु भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्