जातीय विभेदविरुद्धको फिल्ममा ‘द बास्केट’ उत्कृष्ट « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


जातीय विभेदविरुद्धको फिल्ममा ‘द बास्केट’ उत्कृष्ट


0
Shares

काठमाडौं । जातीय विभेदविरुद्ध घोषणा गरेको लघु फिल्म प्रतियोगितामा ‘द बास्केट’ले पहिलो स्थान हासिल गरेको छ ।

शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा विजेता चार फिल्मसँगै निर्णायकले छानेका २० फिल्मका सहभागीलाई सहभागिताको प्रमाण पत्र वितरण गरिएको हो ।

नेपाल चलचित्र निर्देशक समाजले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र युएनडीपीसँग मिलेर लघु फिल्म प्रतियोगिता गरेको थियो ।

कार्यक्रममा सुरेन्द्र प्रजापतीको ‘शुन्य’ दोस्रो स्थानमा रहँदा राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ ले तेस्रो स्थान पाएको छ । शर्मा क्रिएसनको ‘अछोप’लाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

निर्देशक समाज र युनडीपीले जातप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रश्तुत गर्नुपर्ने गरी गत डिसेम्बरमा सूचना प्रकाशित गरेका थिए ।

कानून न्याय, तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, वरिष्ठ निर्माता÷निर्देशक तथा कलाकार निर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल सम्मिलित निर्णायक मण्डलले समितिलाई प्राप्त ५६ फिल्मबाट २० फिल्म छानेका थिए ।

यसरी छानिएका २० फिल्ममध्ये निर्णायकको ५० प्रतिशत र दर्शक रुचिका फिल्मलाई ५० प्रतिशत गरी विजेता ४ फिल्मको छनोट गरिएको जुरी संयोजक निर शाहले जानकारी गराउनु भयो । प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख रुपैँया, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार र चौथो हुनेले २५ हजार रुपैँया प्राप्त गरेका छन् ।