१ असार २०८१, शनिबार | Sat Jun 15 2024


खाँदबारीका जेष्ठ नागरिकको घरमै भत्ता पुर्‍याउने मेयर थपलियाको प्रतिवद्धता


1.248k
Shares

काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिकाका नवर्निवाचित मेयर महेश थपलियाले जेष्ठ नागरिक भत्ता घरदैलोमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

खाँदबारीमा भएको एक कार्यक्रममा उहाँले जेष्ठ नागरिकहरुलाई घर–घरमै निःशुल्क स्वास्थ्य परीक्षण र औषधि उपचारको व्यवस्था गरिने पनि बताउनुभयो ।

किसानले उत्पादन गरेका कृषिजन्य बस्तुमा लाग्दै गरेको करसमेत खारेज गरिने भन्दै मेयर थपलियाले नगरपालिका क्षेत्रभित्रका सुत्केरी महिलाहरुलाई तीन हजार रुपैयाँ सुत्केरी खर्च उपलब्ध गराउने बताउनुभयो । ८० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई चाडपर्व खर्चको रुपमा वार्षिक तीन हजार रुपैयाँ उपलब्ध गराउने पनि उहाँले घोषणा गर्नुभयो ।

शारिरीक रुपले अशक्त नागरिकलाई बार्षिक दुईहजार रुपैयाँ र विपन्न नागरिकलाई काजक्रिया सहयोग खर्च पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थपलियाले बताउनुभयो ।

उहाँले खाँदबारी नगरपालिका क्षेत्रभित्र घर घरमै बसेर राजश्व तिर्ने व्यवस्था गरिने भन्दै नगरपालिका जोड्ने सडक कालोपत्र, र एक घर एक धारालगायतका ११ बुँदे प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ ।