
एजेन्सी, बैशाख ३ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि जो बाइडेनलाई समर्थन गर्दै एक भिडियो सन्देश जारी गरेका छन् ।
बाइडेनले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका लागि उम्मेदवारी पक्का गरलगत्तै ओबामाले समर्थन गरेका हुन् । अमेरिकाको नेतृत्व गर्न बाइडेन सबैभन्दा उपयुक्त नेता रहेको पनि ओबामाले बताएका छन् ।
बाइडेन ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति रहेका थिए । प्रतिस्पर्धी बर्नी स्यान्डर्सले पनि बाइडेनलाई सोमबार आफ्नो समर्थन रहेको भन्दै उम्मेदवारी होडबाट बाहिरिएका थिए ।
स्यान्डर्सले समर्थन गरेको भोलिपल्टै पूर्व राष्ट्रपति ओबामाले बोइडेनलाई समर्थन गरेका हुन् । पार्टीभित्रको उम्मेदवारी होडमा रहेका कसैप्रति पनि ओबामाले समर्थन गरेका थिएनन् ।
सन्देशमा ओबामाले देशभरका डेमोक्र्याटहरुलाई एकताबद्ध भएर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्ने गरी लाग्न आह्वान गरेका छन् ।
ओबामाले बाइडेनको व्यक्तित्व र कामको प्रशंसा गर्दै उपराष्ट्रपतिको रुपमा बाइडेनलाई रोज्नु आफ्नो सबैभन्दा उत्कृष्ट निर्णय रहेको पनि जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्