
काठमाडौं । सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माण शुरू गरेको १७ वर्षपछि मंगलबार बिहानबाट बल्लबल्ल फोहोर बिसर्जन गर्न शुरू भएको थियो । तर ल्यान्डफिल साइटमा फोहोर विर्सजन भएको तीन घण्टा पनि बित्न नपाउँदै प्रहरी र स्थानीयबीच हात हालाहाल भयो । ल्यान्डफिल साइट पूर्ण रूपमा तयार नभइकनै सुनियोजित रूपमा बन्चरे ल्यान्डफिलमा फोहोर विसर्जन गरेको भन्दै स्थानीयले आन्दोलन गरेपछि प्रहरी र स्थानीयबीच झगडा भएको हो । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बिहान करिब ५ सय सुरक्षाकर्मीको घेरामा सय ट्रक फोहोर बन्चरेडाँडामा खसालिएको थियो। ल्यान्डफिल साइटको स्थानीय निकायका प्रतिनिधिसँग सल्लाह नगरी जबर्जस्ती फोहोर खसाल्न ल्याएकोमा आपत्ति जनाउँदै धुनिवेंशी नगरपालिकाका नवनिर्वाचित मेयर वालकृष्ण आचार्यले भन्नुभयोे– ‘स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर मात्र फोहोर विसर्जन गर्नुपर्ने थियो।’
स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मन्त्रीको निर्देशनपछि हाम्रो विरोध हुँदाहुँदै जबरजस्ती बाटोमै फोहोर फ्याँकेर सवारी साधन फर्किएका थिए।’ उहाँले सुरक्षाकर्मी प्रयोग गरी फोहोर फालेकोमा आपत्ति जनाउनुभयो । जेठ १५ गते सरकारका बजेटपछि मात्रै बन्चरे ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न दिने वा नदिने भन्ने निर्णय गरिने जानकारी दिँदै उहाँले सरकारले स्थानीयसँग गरेको प्रतिबद्धता पूरा नगरेसम्म फोहोर खसाल्न नदिने अडान राख्दै भन्नुभयो– ‘सरकारले ल्यान्डफिल साइटमा कति बजेट विनियोजन गर्छ, त्यसपछि निर्णय हुनेछ।’
मंगलबार बिहान फोहोरको गाडीसँगै करिब ४ सयको संख्यामा प्रहरी ल्यान्डफिल साइटमा पुग्दा स्थानीयले नाराबाजी गरेका थिए। प्रहरीले माइकिङ गरी ल्यान्डफिल साइटमा प्रदर्शन नगर्न आग्रह गरेको थियो । लगातार प्रदर्शन गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरी स्थानीय संयोजक श्रीराम ढुंगाना, सनत उप्रेतीसहित एक दर्जन स्थानीयलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण गरेको तीन घण्टापछि सबैलाई रिहा गरेको थियो । मंगलबार बिहान प्रहरीले स्थानीयलाई नियन्त्रणमा लिएपछि सानाठूला गरी एकसय ट्रक फोहोर विसर्जन भएको काठमाडौं महानगरपालिका सिसडोल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले बताउनुभयो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्