२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दलका उम्मेदवारमाथि बागी हाबी


117
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रह्लादकुमार क्षेत्री वैशाख १२ गते महोत्तरीको बर्दिबास नगरपालिका प्रमुखमा उम्मेदवारी दिन निर्वाचन अधिकृतको कार्यालय पुगे। पार्टीले प्रमुखमा उम्मेदवारी दिन दिएको पत्रसहित क्षेत्रीले उम्मेदवारी मनोनयनपत्र दर्ता गराए। तर क्षेत्रीसँगै पार्टीका अर्का नेता चिरञ्जीवी हमाल पनि त्यस्तै पत्रसहित मनोननय दर्ता गराउन पुगे। एउटै पार्टीका नाममा उस्तै पत्र लिएर दुई जना प्रमुख पदमा मनोनयन दर्ता गराउन पुगेपछि निर्वाचन आयोगको कार्यालय अलमलमा पर्‍यो।

हमाल र क्षेत्रीमध्ये कांग्रेसको आधिकारिक उम्मेदवार को होरु केही समयपछि कांग्रेसको आधिकारिक उम्मेदवार हमाल नै भएको जानकारीसहित पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरयुक्त पत्र बर्दिबास पुग्यो।हमालले पार्टीको आधिकारिक उम्मेदवारका रूपमा मनोनयन दर्ता गराए। क्षेत्री बागीका रूपमा प्रमुखको प्रतिस्पर्धामा उत्रिए।पार्टीको आधिकारिक उम्मेदवारलाई चुनौती दिँदै चुनावी मैदानमा खडा भएका क्षेत्रीले उपप्रमुखमा आफ्नो टिमबाट तारा देवीलाई उठाए। कांग्रेसले उपप्रमुखमा अमिनाकुमारी महतोलाई अघि सारेको थियो। स्थानीय तह निर्वाचनमा पार्टीको निर्णयविरुद्ध उत्रिएका क्षेत्री र तारा दुवैले जनताको मनमात्र होइन, मत पनि जिते।

बर्दिबासका जनताले उनीहरूलाई पाँच वर्षका लागि स्थानीय सरकारको नेतृत्व सुम्पिए। १४ हजार २ सय १० मतसहित क्षेत्री प्रमुखमा निर्वाचित हुँदा तारा ९ हजार ७ सय ३६ मतसहित उपप्रमुखको जिम्मेवारीमा पुगिन्। उनीहरूका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार राजु खड्का र कृष्णमाया गौतम बने। कांग्रेसका केन्द्रीय नेताको मन जितेका हमाल १ हजार २ सय ६३ र महतो १ हजार ७ सय ५८ मतमा सीमित भए। स्थानीय तहको निर्वाचनमा ‘राम्रालाई होइन हाम्रा’ लाई टिकट दिने पार्टी निर्णयको विरोधमा उत्रिने क्षेत्री र तारा मात्र भने होइनन्, सरकारको नेतृत्व गरेको कांग्रेस केन्द्रले महानगर, उपमहानगरमा उम्मेदवार छनोट र सत्ता गठबन्धनमा रहेका दलहरूबीच गरेको भागबन्डाविरुद्ध भरतपुर महानगरपालिकामा जगन्नाथ पौडेलले विद्रोह गरे।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।